अन्तर्राष्ट्रिय

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारत – भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ। अन्य २०० जना विरामी भएर अस्पतालमा छन्। मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको अधिकारीहरूले बताएका छन्।

यो बाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता भित्रमा विषाक्त मदिराका कारण झण्डै १ सय जनाको मृत्यु भएको छ। ‘हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार गोलाघाटमा गत बिहीबार रातीदेखि अहिले सम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ,’ आसामको गोलाघाट जिल्लाका उप–आयुक्त धिरेन हजारिकले भने।

अर्का सरकारी अधिकारीले छिमेकी जिल्ला जोर्हाटमा विषाक्त मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएको जानकारी दिएका छन्। देशको उत्तरपूर्वी राज्य आसाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरूको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। मृत्यु भएका र विरामी भएका मध्ये धेरै जना महिला रहेका छन्।

‘विरामी भएका मध्ये धेरैले बान्ता गर्दै अस्पताल आएका थिए, अत्यधिक पिडा भएको र श्वासप्रश्वासमा गाह्रो भएको बताएका थिए,’ अस्पतालका एक जना चिकित्सक रातुल बोर्डोलोइले भने।

आसामका मुख्य मन्त्री सर्वानन्द सोनोवालले घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएका छन्। प्रदेश प्रहरीले घटनामा दोषी भएको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। भारतमा विषाक्त मदिरा सेवनका कारण हरेक बर्ष सयौंको मृत्यु हुने गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०९:२३ शनिबार

भारत विषाक्त_मदिरा विरामी मजदुर अस्पताल