अन्तर्राष्ट्रिय

युरोपेली सांसद भेनेजुएलाबाट निकालिए

भेनेजुएलाका विपक्षी नेता उवान गुआइडो। तस्बिर : एजेन्सी

कराकास – भेनेजुएला भ्रमणमा रहेका पाँच युरोपेली सांसदलाई भेनेजुएला सरकारले देश निकाला गरेको छ। 

भेनेजुएला भ्रमणमा आएका पाहुनालाई देश निकाला गर्ने सरकारी कदम ‘अविवेकी’ भएको भन्दै विपक्षी नेता उवान गुआइडोेले सरकारको आलोचना गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। 

युरोपेली संसद्का सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको भेनेजुएलाबाट निकालिएका युरोपेली सांसदका टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताए। ‘हामीलाई भेनेजुएला छाड्न भनिएको छ। हाम्रो पासपोर्ट खोसिएको छ। देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन,’ सांसद पोन्सलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ। 

युरोपेली सांसदलाई देश निकाला गर्ने पछिल्लो कदमले राष्ट्रपति निकोलास मादुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ। गत महिना भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका विपक्षी नेता उवान गुआइडोले मुलुकको अन्तरिम राष्ट्रपति आफू रहेको घोषणा गरेयता शक्ति संघर्ष चरम अवस्थामा पुगेको छ।
आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुआइडोलाई ५० भन्दाबढी देशले समर्थन गरेका छन्। तीमध्ये युरोपका ३० वटा देश रहेका छन्।

देश छाड्न आदेश दिइएका अन्य सांसदमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन्। उनीहरु सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन्। युरोपेली सांसदलाई देश निकाला गरिएकोप्रति आपत्ति जनाउँदै विपक्षी नेता गुआइडोले विश्व समुदायबाट एक्लिँदै गएको मादुरो सरकारको पछिल्लो कदम अविवेकी भएको बताएका छन्। उनले भेनेजुएलाका निम्ति मित्र राष्ट्रले पठाएको आपत्कालीन मानवीय राहत सामग्री देशभित्र ल्याउन पनि आम नागरिक समक्ष अपिल गरेका छन्। 

भेनेजुएलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न, सरसरफाईका सामान तथा पोषणयुक्त खाद्य आइपुगेको छ तर त्यसलाई भेनेजुएला प्रवेश गर्न सरकारले अनुमति दिएको छैन। ब्राजिल र भेनेजुएलासँगै सीमा जोडिएको कुराकाओमा पनि सामग्री भण्डारहरु स्थापना गर्ने तयारी विपक्षीले थालेका छन्। ‘हाम्रो मुख्य लक्ष्य नै फेब्रुअरी २३ सम्ममा १० लाख स्वयंसेवी परिचालन गर्ने भन्ने हो,’ विपक्षी नेता गुआइडोले बताए। करिब छ लाख भेनेजुएली नागरिकले सीमामा रोकिएको सहायता देशभित्र ल्याउन हस्ताक्षर गरिसकेका छन्।

विपक्षी नेता गुआइडोले सबै स्वयंसेवीलाई सीमामा गई सामग्री देशभित्र ल्याउन आह्वान गरेको एएफपीले उल्लेख गरेको छ। 

यसैबीच अमेरिकी सिनेटर मार्को रुबियो सहायता कार्यको प्रत्यक्ष अवलोकनका लागि आइतबार कुकुटा पुगेका छन्। उनले कोलम्बिया र भेनेजुएला जोड्ने सिमोन बोलिभार अन्तर्राष्ट्रिय पुलको पनि निरीक्षण गरेको बताइएको छ। तीनवटा अमेरिकी सैनिक कार्गो विमानले दर्जनौं टन खाद्य सामग्री कुकुटा ल्याएका छन्। तर मादुरो सरकारले भने सहायता सामग्रीको नाममा पश्चिमा राष्ट्रले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेपको रणनीति लिएको भन्दै त्यस्ता सामग्री कुनै पनि हालतमा भेनेजुएला छिर्न नदिने अडान लिँदै आएका छन्। 

विपक्षीले बहिष्कार गरेको गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी भएका मादुरोले यस वर्षको सुरुमा दोस्रो कार्यकालका लागि भेनेजुएली राष्ट्रपतिको शपथ लिएपछि भेनेजुएलामा राजनीतिक संकट उत्पन्न भएको हो। मादुरो नेतृत्वको सरकारको विरोधमा राजधानी कराकससहित अन्य क्षेत्रमा दिनँहुजस्तो प्रदर्शन हुँदै आएका छन्। भेनेजुएलाको राजनीतिलाई लिएर विश्व नै दुई ध्रुवमा विभाजित भएको छ। अमेरिकालगायत युरोपका ५० राष्ट्रले विपक्षी नेता गुआइडोलाई समर्थन गरेका छन् भने रुस, चीन, टर्की र मेक्सिकोलगायतका राष्ट्रले मादुरो सरकारलाई समर्थन गरेका छन्।

 

प्रकाशित: ७ फाल्गुन २०७५ ०१:२४ मंगलबार

भेनेजुएला युरोपेली_सांसद देश_निकाला