काराकास - भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको बताएका छन्।
दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई वटा बैठक भइसकेको उनले शनिबार जानकारी दिए। “हामीले दुई बैठक सम्पन्न गरिसकेको साँचो हो, तर त्यसका बारेमा मैले सबै विवरण दिन सक्दिन, मैले गोपनीयताको ख्याल गर्नु पर्दछ,” उनले भने।
भेनेजुएलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उनले एक अर्कालाई राम्रोसँग चिन्नेगरी र विषयवस्तुलाई बुझ्नेगरी छलफल गरेको बताए। उनले भने, “बैठकमा विवादका कुराहरु भए, अरु गहिरो मतभिन्नताका कुरा भए, संगसंगै आपसी चासोका बारेमा पनि एक अर्कालाई बतायौँ।” उनले यी बैठकहरुबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको पनि जानकारी दिए।
भेनेजुएला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्नका लागि एउटा साझा निकाय बनाउने बारेमा पनि छलफल भएको भेनेजुएलाका विदेशमन्त्रीले बताए। अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुएलाका प्रतिनिधिहरुको दुई पक्षीय बैठकका बारेमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पुरै जानकारी भएको पनि विदेश मन्त्रीले बताए।
प्रकाशित: ५ फाल्गुन २०७५ १०:०१ आइतबार