अन्तर्राष्ट्रिय

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

बेइजिङ – चीनमा प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि भएको छ। शनिबार सार्वजनिक एक तथ्याङ्कअनुसार सन् २०१७ भन्दा सन् २०१८ मा प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि भएको हो।

‘चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प्रतिशत बढी हो,’ चीनको राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

तेल उपयोगको गति सन् २०१७ मा ५.९ प्रतिशत रहेको थियो। सन् २०१८ मा कार प्रयोगमा ७.८ प्रतिशतको वृद्धि रहेको थियो। सन् २०१७ मा चीनमा कार प्रयोग गर्ने व्यक्तिको संख्यामा १०.२ प्रतिशत रहेकोमा यसमा वृद्धि आई १८ प्रतिशत पुगेको हो। डिजेल प्रयोगमा गत वर्षभन्दा चार प्रतिशतले वृद्धि भएको देखिएको छ। यो पनि डिजेल प्रयोगमा देखिएको सामान्य वृद्धि हो। प्रशोधित तेलको जम्मा उत्पादन ३६ करोड ८० लाख टन पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ६.३ प्रतिशत वृद्धि हो। 

चीनको कच्चा तेल उत्पादनमा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा १.१ प्रतिशतले कमी आई जम्मा १८ करोड ९० लाख टन पुगेको छ भने कच्चा तेल प्रशोधनमा ४.६ प्रतिशतले वृद्धि भई जम्मा ५८ करोड ८० लाख टन पुगेको सो प्रतिवेदन उद्धृत गर्दै  चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

 

प्रकाशित: २७ माघ २०७५ ०३:१९ आइतबार

चीन पेट्रोलियम_पदार्थ