अन्तर्राष्ट्रिय

चीन–अमेरिका व्यापार वार्तामा महत्वपूर्ण प्रगति

वासिङ्टन – वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन्।

वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ प्रतिनिधिमण्डल र अमेरिकी उच्च अधिकारीबीच चीन–अमेरिकाबीच देखिँदै आएको आर्थिक एवं व्यापार विवादलाई समाधानका लागि बुधबार र बिहीबार छलफल भएको थियो। चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ता टोलीले समानान्तर अमेरिकी समूहसँग भएको छलफल सकारात्मक एवं महत्वपूर्ण बनेको बताइएको छ। दुई पक्षबीच अर्को चरणको वार्ताका लागि तालिका र कार्यदिशा बनाउने र परामर्श गर्नेबारे बैठकमा सहमति भएको बताइएको छ। 

कठिन प्रयासपछि भएको प्रगति दुवै पक्षका राष्ट्रप्रमुखले अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा गत डिसेम्बरमा व्यापार विवादलाई समाधान गर्न गरेको सहमतिलाई गम्भीर कार्यान्वयनमा लाने सहमतिबाट सम्भव भएको हो। 

महत्वपूर्ण प्रगति
दुई दिने लामो वार्तामा अमेरिका र चीनका प्रतिनिधिले व्यापार सन्तुलन, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा, गैर–करमुलक अवरोध, सेवा क्षेत्र, कृषि र कार्य सम्पादन व्यवस्था साथसाथै चिनियाँ पक्षका विशेष चासोका केही विषयमा पनि छलफल गरिएको छ। अहिलेसम्मको अवस्थामा वार्ताले महत्वपूर्ण प्रगति हाँसिल गरेको चिनियाँ प्रतिनिधिमण्डलले जनाएको छ।

दुवै समूह दुईपक्षीय व्यापारलाई थप सन्तुलित बनाउने उपायलाई अघि बढाउन सहमत भएका छन्। चिनियाँ पक्षले अमेरिकाबाट चीन आयात गर्ने कृषि, ऊर्जा, निर्माण तथा अन्य सेवामुलक सामानमा विस्तार गर्ने र यसले चिनियाँ जनताको उच्च तथा गुणस्तरीय आर्थिक विकासको मागलाई सम्बोधन गर्ने चीनको विश्वास छ।

दुई पक्षबीच चिनियाँ तथा अमेरिकी विशेष चासोबारे छलफल भएको र यसले तिनलाई गम्भीर रूपमा सम्बोधन गर्ने बताइएको छ। वार्ताका क्रममा दुवै पक्षले प्रभावकारी दुईपक्षीय संयन्त्र निर्माण गरेर परामर्शबाट भएका सहमति र निस्केका उपायलाई अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। 

दुई शक्तिशाली अर्थतन्त्रका वार्ता टोलीबीच आगामी दिनमा निर्माण गरिने अनुगमन संयन्त्रको संरचना र आधारभूत कुराहरूमा सैद्धान्तिक सहमति बनेको छ। टोलीले समस्यालाई कम गर्न थप प्रयासलाई जारी राख्ने र अघि बढ्ने विषयमा सहमति जनाएका छन्।

 

प्रकाशित: २० माघ २०७५ ०४:२७ आइतबार

वासिङ्टन चीन अमेरिका व्यापार