अन्तर्राष्ट्रिय

अमेरिकापछि रुस पनि आणविक सन्धिबाट बाहिरियो

सन् १९८७ मा सोभियत संघका नेता मिखाइल गोर्बाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन आइएनएप सन्धिमा हस्ताक्षर गर्दै। फाइल तस्बिर : एजेन्सी

मस्को – संयुक्त राज्य अमेरिकाको बाटो पछ्याउँदै रुसले पनि  मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतयुद्धकालीन ‘इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटी (आइएनएफ)’ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको छ।

हतियार नियन्त्रणसम्बन्धी सो सन्धिका शर्तहरु मस्कोले उल्लङ्घन गरेको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले आफ्नो संलग्नतालाई निलम्बन गरेपछि रुसले पछिल्लो कदम चालेको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्कोले शीतकालीन सो सन्धिलाई निलम्बन गरेको घोषणा गरे।

सन्धिबाट बाहिरिएको घोषणा गर्दै रुसी राष्ट्रपति पुटिनले मस्कोले नयाँ क्षेप्यास्त्र बनाउन सुरु गर्ने समेत बताए।

लामो समयदेखि रुसले सन्धिका व्यवस्थाहरुको उल्लङ्घन गरेको आरोप लगाउँदै आएको अमेरिकाले शुक्रबार औपचारिक रूपमै सम्झौतामा रहेका बाध्यताबाट बाहिरिएको घोषणा गरेको थियो।

शीतकालीन युद्धका बेला सन् १९८७ मा संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियतसँगबीच सो सन्धि भएको थियो। सन्धिअनुसार दुवै देशले छोटो र मध्यम दूरीका क्षेप्यास्त्र प्रयोगमा बन्देज लगाइएको थियो।

‘सन्धिबाट आफ्नो सहभागिता हटाउनेबारे हाम्रा अमेरिकी साझेदारले घोषणा गरेका छन् र हामीले पनि सो सन्धिबाट हात झिक्दै छौं,’ रुसी राष्ट्रपति पुटिनले बताए। ‘यस विषयमा हाम्रा विचार पहिलेकै जस्तै यथावत नै छन् र हामी वार्ताका लागि सदैव तयार छौं,’ पुटिनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘आइएनएफ सन्धिलाई रुसले कैयौं वर्षदेखि उल्लङ्घन गरिरहेकाले सबै (युरोपेली) गठबन्धनले अमेरिकासँग सहमत जनाएको छ। रुसले युरोपमा धेरैभन्दा धैरै आणविक क्षमता विस्तार गरिरहेको छ,’ उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टेनबर्गले शनिबार बिहान बिबिसीसँग बताएका थिए।

सो सन्धिका शर्तहरु अक्षरसः पालना गर्नेबारे अमेरिकाले रुसलाई दिएको ६ महिने समावधिलाई मस्कोले अवसरका रूपमा लिनुपर्ने समेत बताएका थिए।

अमेरिकाले पटकपटक रुसले सन्धिका प्रावधान उल्लङ्घन गरेको आरोप लगाए पनि मस्कोले भने आफूले सन्धिको कुनै पनि शर्त उल्लङ्घन नगरेको बताउँदै आएको छ।

रुसमाथि अमेरिकाको आरोप के छ ?

सन्धिले प्रतिबन्ध लगाएको क्षेप्यास्त्र रुससँग रहेको अमेरिकी दाबी रहँदै आएको छ। रुससँग भएका क्षेप्यास्त्र ५०० देखि ५५०० किलोमिटर परसम्म मार हान्न सक्ने क्षमताको भएको आफूसँग प्रमाण रहेको वासिङ्टनले दाबी गर्दै आइरहेको छ। नाटोले एसएससी–८ भनेर चिन्ने कैयौं ९एम७२९ क्षेप्यास्त्र रुसले युरोपमा तैनाथ गरिसकेको केही अमेरिकी अधिकारीको आरोपसमेत रहेको छ।

वासिङ्टनले सो प्रमाण नाटो गठबन्धन राष्ट्रसमक्ष राखेकाले ती राष्ट्रहरुले पनि अमेरिकालाई समर्थन गरेको बताइएको छ।

गत डिसेम्बर महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रुसलाई सो सम्झौताका शर्तहरु पालना गर्न भन्दै रुसलाई ६० दिने समय दिएको थियो। उसले यदि मस्कोले ६० दिनभित्र पनि सम्झौताका शर्तहरु नमाने आफूले सो सन्धि परित्याग गर्ने घोषणा गरेको थियो।

आइएनएफ सन्धिलाई तोडेको भन्ने आरोप अस्वीकार गर्नुबाहेक पनि मस्कोले अमेरिकाले उत्तरी युरोपमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रतिरोधी उपकरण अमेरिकाले तैनाथ गरेको आरोप लगाएको छ। उसले अमेरिकाले त्यसो गर्नु पनि सन्धिको उल्लङ्घन भएको तर्कसमेत अघि सारेको बिबिसीले जनाएको छ।

अब के हुन सक्छ ?    
शनिबार आफ्नो मन्त्रिपरिषद्को विदेश तथा रक्षामन्त्रीहरुसँगको बैठकमा रुसी राष्ट्रपति पुटिनले अब रुसको काम नयाँ हतियार बनाउनमा केन्द्रित हुने बताएका छन्। जसमा, जमिनमा आधारित क्षेप्यास्त्र प्रणालीका साथै ध्वनीभन्दा पाँच गुणा छिटो यात्रा गर्नसक्ने ‘न्यु हाइपरसोनिक’ हतियारको निर्माण हुने उनको भनाइ रहेको छ। यद्यपि उनले मस्को महँगो हतियार दौडमा भने नलाग्ने स्पष्ट पारेको बिबिसीले उल्लेख गरेको छ। उसले अमेरिकाले छोटो र मध्यम दूरीको हतियार तैनाथ नगरेसम्म रुसले पनि तैनाथ नगर्ने बताएका छन्। हतियार दौड युरोपेली राष्ट्रका लागि प्रमुख सरोकारका विषय हो।

प्रकाशित: २० माघ २०७५ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App