अन्तर्राष्ट्रिय

लागूऔषधविरुद्धको युद्ध समापनको घोषणा

मेक्सिको सिटी – मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषधविरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गरेका छन्। उनले मेक्सिको सरकारले लागूपदार्थका तस्कर पक्राउ गर्न सेना प्रयोग गर्ने कुरालाई प्राथमिकता नदिने बताए।

आलोचकले राष्ट्रपतिको सो कदमको आलोचना गरेका छन्। उनीहरुले वामपन्थी राष्ट्रपति ओब्राडोरले चुनावी प्रतिबद्धता बमोजिम सेना परिचालन रोक्न पर्याप्त काम गर्न नसकेको औंल्याएका छन्। सेनाका अलावा राष्ट्रिय गार्ड निर्माण गर्ने राष्ट्रपतिको तयारीले मुलुकलाई थप सैनिकीकरण गर्ने उनीहरुको भनाइ छ। मेक्सिकोले लागूपदार्थका तस्करविरुद्ध लड्न सन् २००६ देखि सेना परिचालन गरेको छ तर सेना परिचालनको विषयमा पनि मेक्सिकोभित्रै चर्को आलोचना हुँदै आएको छ।

सैनिक परिचालनबाट ठूला तस्कर गिरफ्तार भएपनि देशभित्र हिंसात्मक झडपका घटना धेरै भएका थिए। साना तस्करबीच एकआपसमा र सेनासँगको भिडन्तमा धेरैको ज्यान गएको थियो। ‘अहिले युद्ध भएकै छैन। हामी शान्ति चाहन्छौं र हामी शान्ति हासिल गर्नेतर्फ एक कदम अगाडि छौं। अहिले कोही संगठित अपराधी पक्राउ परेका छैनन् किनभने त्यो हाम्रो मुख्य उद्देश्य होइन। सरकारको मुख्य उद्देश्य नै सार्वजनिक सुरक्षा प्रदान गर्नु हो,’ ओब्राडोरले मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा बताए। ‘हामीले चाहेको नै सुरक्षा र दैनिकजसो हुने नरहत्या रोक्नु हो,’ राष्ट्रपति ओब्राडोरले बताए।     
    
    

 

प्रकाशित: १८ माघ २०७५ ०४:५८ शुक्रबार

मेक्सिको राष्ट्रपति आन्द्रेस_म्यानुएल_लोपेज_ओब्राडोर लागूऔषध