अन्तर्राष्ट्रिय

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

क्वालालाम्पुर – मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन्। यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचनमार्फत् छनौट गरिएका नयाँ राजाले बिहीबार राज्यारोहण गरेका हुन्। खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा निलो पानीरङको औपचारिक पोशाक लगाएका थिए। क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा साँस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले शपथ ग्रहण गरेका थिए।

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजारौं अतिथि, मुस्लिम धर्मगुरुलगायतकोसहभागिता थियो भने टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। शपथ ग्रहण अगाडि ५९ वर्षीय नयाँ राजा अब्दुल्लाहलाई राष्ट्रिय संसद्मा स्वागत गरिएको थियो भने सम्मान गारत पनि दिइएको थियो। मलेसियाको राजसभाद्वारा केही दिन अगाडि संवैधानिक राष्ट्र प्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाको १६औं राजा हुन्।    नयाँ राजा अब्दुल्लाह खेलकुद क्षेत्रमा अत्यधिक सक्रिय व्यक्ति हुन्। उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि रहेका थिए। साथै उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

प्रकाशित: १८ माघ २०७५ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App