अन्तर्राष्ट्रिय

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडाैं- धितोपत्र बजारमा आइतवार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ। 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३१ विन्दुले घटेर २४६.३५ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए। 

स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ ८.९, होटल ११.७१, विकास बैंक ११.७९, जलविद्युत् १९.८४, वित्त ०.७२, निर्जीवन बीमा १०८.२१, उत्पादन २१.६४, अन्य ६.६४, लघुवित्त १३.२८ र जीवन बीमा ७१.४३ अङ्कले घटेको छ। 

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, कन्काई विकास बैंक, साुमदायिक लघुवित्त वित्तीय संस्था, युनाइटेड फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी कमाएका छन्। यस्तै छ्याङदी हाइड्रोपावर, जनता बैंक नेपालका संस्थापक शेयर, एनएलजी इन्स्योरेन्स, बरुण हाइड्रो पावर, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन्। रासस

प्रकाशित: १३ माघ २०७५ १०:३४ आइतबार

नेप्से नेपाल_स्टक_एक्सचेञ्ज धितोपत्र_बजार