अन्तर्राष्ट्रिय

भारतीय क्रिकेट टाेलीसँग सावधान रहन न्युजिल्याण्ड प्रहरीकाे चेतावनी

काठमाडाैं - भारतीय क्रिकेट टोलीलाई लक्षित गर्दै न्युजिल्याण्ड प्रहरीले एक व्यङ्ग्यात्मक पोष्ट सार्वजनिक गरेको छ।न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीलाई प्रहरीले लक्षित गर्दै यो टोलीसँग सावधान रहन सर्वसाधारणलाई चेतावनी दिएको हाे।

न्युजिल्याण्डको इस्टर्न डिस्ट्रिक पुलिसले भारतीय क्रिकेट टोलीसँग सावधान रहनुपर्ने बताउँदै व्यङ्ग्यात्मक शैलीमा भनेको छ 'देशमा घुमिरहेको एक विनाशकारी समूहको बारेमा प्रहरी सर्वसाधारणलाई चेतावनी दिन चाहन्छ। प्रत्यक्षदर्शीका अनुसार गत साता मात्रै यो समूहले नापियर र माउन्ट माउन्गानुइमा न्युजिल्याण्डको एक निर्दोष समूहमाथि नराम्रोसँग हमला गरेको छ। यदी तपाइँ क्रिकेटको बल या ब्याट लिएर घुम्दै हुनुहुन्छ भने यो समूहसँग सावधान रहनुस्।'

न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले पाँच एकदिवसीय खेलको श्रृङ्खलामा २-० को अग्रता कायम गरेपछि न्युजिल्याण्ड प्रहरीले सो व्यङ्ग्यात्मक पोष्ट सार्वजनिक गरेको हो। भारतले नापियरमा भएको पहिलो खेलमा घरेलु टोली न्युजिल्याण्डलाई ८ विकेट तथा माउन्ट माउन्गानुइमा भएको खेलमा ९० रनले पराजित गरेको थियो।

 

प्रकाशित: १३ माघ २०७५ ०९:५५ आइतबार

न्युजिल्याण्ड क्रिकेट प्रहरी भारत