अन्तर्राष्ट्रिय

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

तस्बिर : एपी

क्वालालमपुर- मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन्। संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६औं राजा भएको अधिकारीहरूले जनाएका छन्। 

राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार यही जनवरी ३१ तारिखका दिन उgले पद वहाली गर्नेछन्। यसअघिका राजा सुल्तान मुहम्मद पाँचौले यही जनवरी ६ मा राजिनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो। 

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावअधि नसकिँदै राजिनामा दिने उनी पहिलो राजा हुन।  उनले राजिनामा दिनु पर्नाको कारण अहिले सम्म स्पष्ट पारिएको छैन। तर उनले रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले राजिनामा दिएको बताइएको छ। 

राजिनामाको घोषणा गर्नुअघि ४९ बर्षीय १५औं राजा सुल्तानले केही सातादेखि विदा लिएका थिए। उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए। 

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए। मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ। त्यही परम्परा अनुसार ५९ बर्षिय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन्। 

नयाँ राजा अब्दुल्लाहका पिता सुल्तान अहमद शाहले ८८ बर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्लाह त्यस राज्यको सुल्तान बनेका थिए। अस्वस्थताको कारण देखाउदै उनका पिताले पद त्याग गरेका थिए।

नयाँ राजा अब्दुल्लाह खेलकुदमा अत्यधिक संलग्न व्यक्ति हुन। उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि भएसकेका छन्। साथै उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन्। 

उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रुपमा घोषणा गरिएको अधिकारीहरुले बताएका छन्। यसअघि पनि कार्यबाहक राजाको जिम्मेबारी सम्हालेका ६२ बर्षिय नज्रिनलाई उपप्रमुखको रुपमा फेरी पनि पाँच बर्षका लागि निरन्तरता दिइएको हो। 

सन् १९५७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन्। तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ। 

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ। बहुसङ्ख्यक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकतावद्ध राखेको विश्वास गर्छन्। 

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ। तर राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ। 

मलेसियाका १३ राज्य मध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यका गर्भनर छन्। ती नौ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणाली मार्फत् पाँच पाँच बर्षका लागि राजा छान्ने परम्परा रहेको छ। 

प्रायः पालो कुरेर बसेका सुल्तान पालै पालो राजा हुन्छन्। अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो। 

राजा छान्न सबै सुल्तानहरूलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ। अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छैन कि छैनन् भनेर निर्णय गर्छन्। 

राजा निर्वाचित हुन नौमध्ये कम्तीमा पाँच मत अर्थात् बहुमत पाउनु पर्दछ। बहुमत नपुगेमा त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा यही प्रक्रियाबाट मतदान गर्ने परम्परा रहेको छ। सिन्ह्वा

प्रकाशित: १० माघ २०७५ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App