अन्तर्राष्ट्रिय

चीनले चन्द्रमामा बिरूवा उमार्‍याे

चांगी–४ उम्रिएको कटनको अंकुर। तस्बिर:एजेन्सी

बेइजिङ – चीनको चांगी–४ मिसनले चन्द्रमामा लगेको बिउ उम्रिएको चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्रशासनले बताएको छ। 
चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो। चन्द्रमामा कुनै पनि पदार्थको बिउ उम्रिएको विषय अन्तरीक्ष अनुसन्धानको दीर्घकालीन बाटोतर्फ महत्वपूर्ण कदम बनेको छ। 

चन्द्रमामा चीनले पठाएको पहिलो मिसन हो चांगी–४, जुन चन्द्रमाको परको भागमा अवतरण गरेको थियो। सो भाग पृृथ्वीबाट देखिँदैन। चांगी–४ ले यसै वर्षको जनवरी ३ का दिन चन्द्रमाको परको भागमा अवतरण गरेको थियो। सो यानले सो क्षेत्रको भूबनोटको अध्ययन र अनुसन्धान गर्ने खालको उपकरण साथमा लगेको छ। 

यसअघि अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेसनमा बिरुवा हुर्काइएको थियो तर चन्द्रमाको सतहमै कुनै पनि जैविक बिउ उम्रिएको यो पहिलो घटना भएको बिबिसीले जनाएको छ।  चन्द्रमामा विरुवा हुर्किन सक्ने क्षमता दीर्घकालीन अन्तरीक्ष अभियानका लागि महत्वपूर्ण कदम हुने छ। यसको मतलव अन्तरीक्षयात्रीहरुले आफ्नो खानाका लागि आफैले बाली लगाउने छन्। यस्तो भयो भने उनीहरुलाई खाद्यान्न लगायतका सामानका लागि पृथ्वीमा आइरहनुपर्ने बाध्यताको अन्त्य हुने छ। 

चांगी–४ कटन, आलुको बिउ, इस्ट र फ्रुट फ्लाई एगभएको कार्गो माटोसहित चन्द्रमाको यात्रामा निस्केको थियो। विरुवा चांगी–४ मा रहेको बन्द कन्टेनरमा रहेका छन्। ती बालीले सानो कृत्रिम र आफै बाँच्ने वातावरण बनाउने प्रयास गर्ने बताइएको छ। 

 

प्रकाशित: २ माघ २०७५ ०७:०९ बुधबार

चीन चन्द्रमा बिरूवा चिनियाँ_राष्ट्रिय_अन्तरीक्ष_प्रशासन