अन्तर्राष्ट्रिय

व्यापार विवादकाे समाधान यसै वर्ष : चीन

बेइजिङ – अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्र सही दिशामा ल्याउने चीनका वाणिज्यमन्त्री झोङ सानले चिनियाँ सञ्चारमाध्यमसँग बताएका छन्। अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय गरेको मन्त्री झोङले बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत वर्षको डिसेम्बर १ का दिन अर्जेन्टिनाको ब्युनस आयर्समा भएको सहमतिलाई आधार बनाएर व्यापार वार्तामा छलफल भएको र कुराकानी सकारात्मक दिशातर्फ अघि बढेको मन्त्री झोङको भनाइ थियो। वाणिज्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले भनेको छ, ‘वार्ताबाट व्यापारबारे पारस्पारिक चासोका विषयलाई समाधान गर्न आधार खडा भएको छ। हामीले सावधानीपूर्वक चीन–अमेरिका आर्थिक तथा व्यापार विवादलाई यसै वर्षमा समाधान गर्छौं।’ ‘बेइजिङले बाहिरी लगानीलाई पनि प्रोत्साहित गर्ने छ। वैदेशिक लगानीका लागि कानुन अनुमोदन गराउने र विवाद समाधान प्रणालीमा सुधार  पनि ल्याउने छ,’ मन्त्री झोङलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

चीनका नीति निर्माताहरूले थप खुला र स्वतन्त्र बजारका लागि काम गर्न लामो समयदेखि प्रतिबद्धता जनाए पनि सो  प्रतिबद्धतालाई कार्यान्वयनमा लाने विषयमा ढिलाइ भइरहेको छ। युरोपेली संघ च्याम्बर अफ कमर्सले चीनको स्वतन्त्र बजारप्रतिको नीतिलाई  संवेदनरहीत प्रतिबद्धता का रूपमा लिएको छ। ‘चीनको नकारात्मक सूची, जसले निश्चित उद्योगहरूमा लगानी गर्न कडाइ गरेको छ, त्यसले थप कमजोर बनाएको छ,’ झोङले बताए।  बेइजिङले पनि आर्थिक क्षेत्र विस्तारमा देश बाहिरको लगानी भिœयाउनका लागि चिनियाँ सरकारको संयुक्त सहकार्यबिना नै खुला बनाउने पहल गरिरहेको छ। खासगरी विदेशी लगानी निर्माण, उच्च प्रविधिजन्य उद्योग र चीनको भित्री क्षेत्रमा लगानी गर्ने कुरालाई मन्त्री झोङले विशेष जोड दिएको सिन्ह्वाले जनाएको छ। यो विषय र गत वर्ष गरिएका प्रतिबद्धतामा भिन्नता खासै नपाइने युरोपको बुझाई छ। अमेरिकी लगानीलाई लक्षित गरी थप खुला क्षेत्रको सुनिश्चितता र आर्थिक सुधारका पक्षमा नै वासिङ्टनसँगको वार्ता केन्द्रित रहेको मन्त्री झोङले बताए।

प्रकाशित: ३० पुस २०७५ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App