अन्तर्राष्ट्रिय

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न

बेइजिङ – अनुमान गरेभन्दा लामो समय चिनियाँ राजधानी बेइजिङमा चलेको विश्वका दुई शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता बुधबार अन्त्य भएको छ।  दुई देशबीचको व्यापार वार्ताको उपलब्धी चाँडै सार्वजनिक गरिने अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ। 

विश्व अर्थतन्त्रलाई क्षति पु-याउन सक्ने अमेरिका–चीनबीचको व्यापार युद्ध अन्त्य गर्नेबारे दुई देशका अधिकारीबीच चिनियाँ राजधानी बेइजिङमा सम्पन्न वार्ता सकारात्मक बनेको अनुमान गरिएको छ। 

पूर्वनिर्धारित समयभन्दा एक दिन बढी बुधबारसम्म अमेरिका र चीनका अधिकारीबीच व्यापार युद्ध अन्त्यबारे छलफल भएको थियो। एक दिन लम्ब्याएर भए पनि वार्ता हुनुलाई व्यापार युद्ध अन्त्य गर्न दुवै देश कति चिन्तित छन् भनेर प्रष्ट भएको चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। 

अमेरिका र चिनियाँ प्रतिनिधिबीच घनिभूत छलफल चलेको र वार्ता सकारात्मक भएको विषय बाहिरिएपछि एसियाको सेयर बजार उकालो लागेको छ। त्यसैगरी युरोप र अमेरिकाका बजार पनि दुई देशका अधिकारीबीचको वार्ताले आश जगाएको भन्दै सुधारतर्फ अघि बढ्ने अनुमान गरिएको छ। विश्वका दुई ठूला अर्थतन्त्र सहमति नजिक पुगेको आशले एसिया, युरोप र अमेरिकाका सेयर बजार उकालो लाग्ने संकेत मिलेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। 

व्यापार र विदेशी कृषिसम्बन्धी मामिलाका लागि अमेरिकी कृषि उपमन्त्री टेड म्याककिन्नेले केही दिनको सुखद् चिनियाँ बसाइँपछि अमेरिकी प्रतिनिधिमण्डल बुधबार अबेर अमेरिका फर्कने बताएका छन्। ‘मलाई लाग्छ दुई देशबीको वार्ता अत्यन्तै सुखद् भयो,’ टेडलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। ‘वार्ता हाम्रा लागि राम्रो नै भयो,’ विस्तृत विवरण नखुलाई प्रतिनिधिमण्डल बसेको होटेलमा पत्रकारसमक्ष उपमन्त्री टेडले बताए। 

सोमबार र मंगलबारका लागि मात्रै तय भएको बैठक एक दिन लम्ब्याउने विषयमा दुवै पक्षबीच भएको सहमतिअनुसार नै बैठक लम्बिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले मन्त्रालयमा दैनिक आयोजना हुने प्रेस विफ्रिङका क्रममा बताए। 

बैठक लम्बिनुको अर्थ के वार्ता अत्यन्तै असहज भएको हो भन्ने एक पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता लुले भने, ‘बैठकको समय लम्बिनुको अर्थ दुवै पक्ष सहमतिद्वारा व्यापारिक समस्यालाई समाधान  गर्न कति प्रयत्नशील छन् भनेर प्रष्ट भएको छ, म यत्ति मात्रै भन्न सक्छु। 

गत वर्षको नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन अर्जेन्टिनाको ब्युनस आयर्समा सम्पन्न भएको विश्वका २० शक्तिशाली अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ बैठकका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ९० दिनसम्म एकअर्काका सामानमा कर (ट्यारिफ) नलगाउने भनेर भएको सहमतिपछि पहिलो पटक दुई देशका प्रतिनिधिबीच यसै साता प्रत्यक्ष छलफल भएको हो। दुई नेताबीच गत डिसेम्बर १ का दिन सो सहमति भएको थियो। अमेरिका र चीनले एक अर्काका सामानमा ट्यारिफ लगाएपछि विश्वभर व्यापार युद्ध हुने चिन्ता बढेको थियो। 

संयुक्त राज्य अमेरिका र चीनका प्रतिनिधिबीच तीन दिनसम्म चलेको व्यापार वार्ताको उपलब्धीबारे बिहीबार बिहान विज्ञप्तिमार्फत्  जानकारी हुनसक्ने चीनको राज्य सञ्चालित समाचारपत्रका सम्पादकले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा विवरणलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

‘मलाई थाहा भएसम्म दुई देशबीच सौहार्दपूर्ण वातावरणमा व्यापार वार्ता भयो। दुवै पक्षले वार्तामा के भयो भनेर केही बताएका छैनन् किनभने अमेरिकी प्रतिनिधि अहिले स्वेदश फर्कने क्रममा विमानमा रहेका छन्,’ अमेरिकी प्रतिनिधि बुधबार अबेर अमेरिका प्रस्थान गरेपछि ग्लोबल टाइम्सका सम्पादक हु सियानले सामाजिक सञ्जालमा पोस्ट गरेको विवरणमा भनिएको छ। ग्लोबल टाइम्स चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक दैनिक पत्रिका हो। ‘बेइजिङको समयअनुसार बिहीबार बिहान दुवै पक्षले वार्ताबारेको सन्देश सार्वजनिक गर्ने छन्,’ हुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २६ पुस २०७५ ०२:२३ बिहीबार

अमेरिका–चीन व्यापार_वार्ता बेइजिङ