अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा राष्ट्रको नाममा सम्बोधन

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिका र मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्नका लागि माग गरेको बजेट देशको संसद्ले स्वीकृत नगरेपछि १८ दिनदेखि आंशिक रूपमा सरकार बन्द भएको परिवेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गरेका छन्। 

ओभल अफिसबाट टेलिभिजनमार्फत् राष्ट्रको नाममा गरिएको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने उनको लामो समयअघिको प्रतिबद्धता लागि बजेट आवश्यक पर्ने बताए। यद्यपि उनले यसअघि संकटकाल लगाउने भनेर दिएको अभिव्यक्तिलाई भनेर लागू गरेनन्। उनले सम्बोधनका क्रममा संकटकाल घोषणा गरेनन्।  यदि उनले संकटकाल घोषणा गरेको भए विपक्षी डेमोक्रेटको नियन्त्रण रहेको देशको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’लाई बाइपास गरिन्थ्यो। 

डेमोक्रेट नेताहरुले भने राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई बन्धक बनाइरहेको आरोप लगाएका छन्। रिपब्लिकन राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको सीमामा स्टिल तारबार लगाउनका लागि ५७ अर्ब अमेरिकी डलर माग गरेका छन्। यद्यपि डेमोक्रेट नियन्त्रण रहेको देशको तल्लो सदनले भने राष्ट्रपतिको सो मागलाई पारित गरेको छैन। आफ्नो महत्वाकांक्षी योजनामा आवश्यक पर्ने रकम संसद्ले उपलब्ध नगराउने देखिएपछि राष्ट्रपति ट्रम्पले देशको बजेटसमेत पारित गरेका छैनन्, जसका कारण संघीय सरकारका कैयौं कार्यालयहरु आशिंक रूपमा बन्द भएको १८औं दिन भइसकेको छ। नोभेम्बर महिनामा भएको मध्यावधि निर्वाचनपछि देशको तल्लो सदनमा नियन्त्रण प्राप्त गरेको डेमोक्रेटहरुले भने राष्ट्रपति ट्रम्पको अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने योजनाको विरोध गर्र्दै आएका छन्। 

बजेट अभावमा संघीय सरकारका एक चौथाई निकाय बन्द भएका छन्। यो अमेरिकी इतिहासमै भएको दोस्रो आंशिक सरकारी कार्यालय बन्दको घटना हो। जसका कारण हजारौं सरकारी कर्मचारीले तलब सुविधा पाएका छैनन्। 

सम्बोधनमा ट्रम्पले के भने ?
राष्ट्रपति ट्रम्पको मंगलबार साँझको आठ मिनेट लामो सम्बोधन अमेरिकाका लगभग सबै प्रमुख टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए। सम्बोधनका क्रममा उनले आंशिक रूपमा संघीय सरकार बन्द हुनुको दोष डेमोक्रेटमाथि लगाएका थिए। मध्य अमेरिकी देशहरुबाट अमेरिका प्रवेशका लागि आएका हजारौं आप्रवासीका कारण अमेरिका–मेक्सिको सीमामा भइरहेको अहिलेको अवस्थामाथि पनि उनले बोले। ‘यो मानवीय संकट हो, सो संकट मुटु र आत्माको संकट हो,’ ट्रम्पले सम्बोधनका क्रममा बताए।

‘नर्थ अमेरिकन फ्रि ट्रेड अग्रिमेन्ट (नाफ्टा)’मा भएको पुनर्सहमतिअनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि मेक्सिकोले पैसा तिर्ने ट्रम्पले सम्बोधनका क्रममा बताए। यद्यपि नाफ्टामा भएको पुनर्सहमतिका विषय अमेरिकी संसद्बाट पारित हुन बाँकी नै रहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुदेखि नै अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेट मेक्सिकोले तिर्ने बताउँदै आएका थिए, जुन विषयलाई अर्थविद्हरुले विरोध गर्ने गरेका थिए। ट्रम्पले यस्तो दाबी गरे पनि मेक्सिकोले भने पर्खाल निर्माणका लागि पैसा तिर्ने विषयलाई सदैव अस्वीकार गर्दै आइरहेको छ। 

उनले अमेरिकामा बेचविखन हुने हेरोइनमध्ये९० प्रतिशत मेक्सिको हुँदै आउने भएकाले पनि दुई देशबीच पर्खाल निर्माण गर्नुको विकल्प नरहेको सम्बोधनका क्रममा बताए। दुई देशबीच भौतिक छेकबार लगाउनुपर्ने विषयमा डेमोक्रेटहरुले यसअघि सहमति जनाए पनि अहिले बोली फेरेको ट्रम्पले बताए। उनले निर्दयी आप्रवासीहरुले कैयौं अमेरिकी नागरिकको हत्या गरेको भन्दै त्यस्तो कार्य कहिलेसम्म हुन दिने भन्दै प्रश्नसमेत गरेका छन्।

प्रकाशित: २६ पुस २०७५ ०२:५६ बिहीबार

अमेरिका मेक्सिको सीमा डोनाल्ड_ट्रम्प