अन्तर्राष्ट्रिय

भारतमा बस दुर्घटना हुँदा ६ स्कुले बालबालिकाको मृत्यु

तस्बिर : एजेन्सी

भारत – भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

सिरमाउर जिल्लाका वरिष्ठ प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको बताए। दुर्घटनाको वास्तविक कारण अझै नखुलेको प्रहरीले जनाएको छ। लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन्। भारतमा हरेक वर्ष सडक दुर्घटनामा औसतमा एक लाख ५० हजारको मृत्यु हुने गरेको छ। 

प्रकाशित: २१ पुस २०७५ १६:०१ शनिबार

भारत बस_दुर्घटना