अन्तर्राष्ट्रिय

म्यानचेस्टर भिक्टोरिया स्टेसनमा चक्कु आक्रमण

लन्डन – अंग्रेजी नयाँ वर्षको अघिल्लो रात बेलायतको म्यानचेस्टर सहरमा रहेको म्यानचेस्टर भिक्टोरिया स्टेसनमा एक प्रहरी अधिकारीसहित तीनजनामाथि भएको चक्कु प्रहारको घटना आतंकसँग सम्बन्धित रहेको प्रहरीले पुष्टि गरेको छ।

चक्कु प्रहार गरेर हत्याको प्रयास गरेको आरोपमा एक २५ वर्षीय पुरुष पक्राउ परेको प्रहरी स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। घटनास्थलबाट दुई थान चक्कु बरामद गरिएको र पक्राउ परेका व्यक्तिको साथमा अन्य उपकरण हुनसक्ने भन्दै चिथम हिल क्षेत्रमा खोजी कार्य जारी रहेको बताइएको छ। सोमबार अबेरको घटनाको विषयमा प्रहरीको अनुसन्धानलाई बेलायतको सुरक्षा सेवाले सहयोग गरिरहेको बिबिसीले जनाएको छ। सन् २०१८ को अन्तिम साँझ भएको चक्कु आक्रमणबारे ग्रेटर म्यानचेस्टर प्रहरीले मंगलबार बिहान गरेको संक्षिप्त विफ्रिङमा आफूहरुले आक्रमणकारीले आक्रमण गर्नुको कारणबारे खुला दिमाग लिएर अनुसन्धान गरिरहेको बताएको छ। सोमबारको चक्कु आक्रमणबाट घाइते भएका तीन पीडितलाई चिन्ताजनक अवस्थामा नजिकैको अस्पताल पुर्‍याइएको भए पनि उनीहरु खतरामुक्त रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘चक्कु प्रहारका कारण एक ५० वर्षीय महिलाको अनुहार र पेटमा चोट लागेको छ भने ५० वर्षकै हाराहारीमा रहेका अर्का पुरुषको भने पेटमा चोट लागेको छ,’ म्यानचेस्टर प्रहरीले जनाएको छ।

चक्कु आक्रमणको घटनापछि बन्द गरिएको म्यानचेस्टर भिक्टोरिया रेलवे स्टेसन पुनः सञ्चालनमा आएको बिबिसीले जनाएको छ। स्टेसनहरुका सेवा साधारण अवस्थामा नै सञ्चालन भइरहेको भए पनि केही ढिलो भने भएको म्यानचेस्टर मेट्रोलिंकले जनाएको छ। घटनाबारे प्रधानमन्त्री थेरेसा मेले ट्विट गरेकी छन्। उनले शंकास्पद आतंकवादी आक्रमणमा घाइते भएकाप्रति आफ्नो गहिरो सहानुभूति रहेको ट्विटमा लेखेकी छन्। त्यसैगरी उनले त्यस्तो अवस्थामा तत्काल सुरक्षा दिन सकेको भन्दै देशको आपतकालीन सेवाको सहासिक कदमको समेत खुलेर प्रशंसा गरेकी छन्। आतंकवाद विरोधी प्रहरीले सोमबार रातिको आक्रमणलाई सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको भए पनि आक्रमणको उद्देश्यबारे खुला भएर सोचिने बेलायती अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

चक्कु आक्रमणमा अन्दाजी ३० वर्षका एक प्रहरी अधिकारी पनि घाइते भएका छन्। उनको कुममा चक्कु प्रहार गरिएको छ। घाइते उनी मंगलबार अस्पतालबाट घर फर्किसकेको बताइएको छ। बेलायतका गृहमन्त्री साजिद जाभिदले चक्कु आक्रमणमा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। घटना हुँदा सोही क्षेत्रमै रहेका बिबिसीका पत्रकार साम क्लाकले चक्कु आक्रमण गर्दा आक्रमणकारीले ‘अल्लाह’ भनेर कराएको आफूले सुनेको बताएका छन्। ती आक्रमणकारीले आक्रमण गर्दै गर्दा पश्चिमा सरकार विरोधी नारासमेत लगाएको क्लाकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। आक्रमणकारीसँग लामो किचनमा प्रयोग हुने छुरी रहेको उनले बताएका छन्।

प्रकाशित: १८ पुस २०७५ ०३:१५ बुधबार

नयाँ_वर्ष भिक्टोरिया चक्कु_आक्रमण आतंक