अन्तर्राष्ट्रिय

गुप्तचर पूर्वप्रमुखलाई आजीवान कारावास

बेइजिङ – घुस लिएको र गोप्य रूपमा व्यापार गरेको अभियोगमा चीनका गुप्तचर पूर्वप्रमुख मा चियानलाई आजीवन कारावासको सजाय दिइएको छ।

भ्रष्टाचारको अभियोग लागेका मालाई सन् २०१५ देखि अनुसन्धानमा राखिएको थियो। अनुसन्धान सुरु भएको अर्को वर्ष सन् २०१६ मा उनलाई सत्तारुढ कम्युनिस्ट पार्टीबाट पनि निष्कासन गरिएको थियो। माले आफूमाथि लागेको अभियोग स्वीकार गरेको र पुनरावेदन नगर्ने बताएको उत्तरपूर्वी लियाओनिङ प्रान्तस्थित एक अदालतले जनाएको छ।
चीनमा वर्तमान राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी अभियानका कारण कैयौं उच्च पदस्थ अधिकारीहरु पदबाट हटाइएका छन्। मा चियान चीनको शक्तिशाली राज्य सुरक्षासम्बन्धी मन्त्रालयको उपमन्त्रीसमेत रहेका थिए।

सो मन्त्रालयले विदेश र गुप्तचरसम्बन्धी गतिविधि हेर्ने गर्छ। चीनबाट देश निकाला गरिएका र देशमा सर्वाधिक खोजी सूचीमा रहेका सम्पत्तिसम्बन्धी व्यापारी गुवो वेन्गुई जसले कम्युनिस्ट पार्टीका उच्च तहका सदस्यहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै शृंखलाबद्ध रूपमा विवरण प्रकाशन गरेका थिए, उनीसँगै माको मुद्दा पनि जोडिएको छ।

‘हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएका गुवो वेन्गुईलाई सहयोग गर्न र पछि आफ्नो व्यापारिक स्वार्थ पूरा गर्न माले आफ्नो पदको दुरुपयोग गरेका थिए,’ द डालियन इन्टरमिडियट पिपल्स कोर्ट (अदालत)ले एक विज्ञप्तिमार्फत् जनाएको छ।

माले घुसबापत र भित्री रूपमा जानकारी प्राप्त गरेको आधारमा गरिएको सेयर व्यापारमार्फत् १० करोड चिनियाँ युआनभन्दा बढी पैसा लिएको सो अदालतले जारी गरेको विज्ञति उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘प्रतिवादी मा मा चियानले घुसबापत लिएको रकम धेरै छ जसका कारण देश र जनताको स्वार्थमा प्रतिकूल असर परेको छ र यसले राष्ट्र सेवक कर्मचारीको आत्मसम्मानमा आघात पुर्याएको छ,’ सो अदालतको विज्ञप्तिमा भनिएको छ।

अदालतको फैसलाका विषयमा प्रतिक्रिया लिन खोज्दा मा चियान र गुवो वेन्गुई दुवै सम्पर्कमा नआएको बिबिसीले जनाएको छ। सी चिनफिङ सन् २०१२ मा चीनको शक्तिमा आएपछि सुरु गरिएको भ्रष्टाचार विरोधी अभियानका कारण दश लाखभन्दा बढी अधिकारीहरुलाई सजाय दिइसकिएको चिनियाँ सरकारले जनाएको छ।

आधुनिक चीनका निर्माता माओ त्से तुङले सन् १९६६ देखि १९७६ सम्म सञ्चालन गरेको साँस्कृतिक क्रान्तिपछिको सबैभन्दा महत्वाकांक्षी मानिएको राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी अभियान पार्टीभित्रकै विपक्षीहरुलाई सखाप पार्ने अभियानसँग सम्बन्धित रहेको केही आलोचकहरुले बताउने गरेका छन्। माओ त्से तुङको साँस्कृतिक क्रान्तिको समयमा पनि कैयौं उच्च पदस्थ अधिकारीहरुलाई हटाइएको थियो।

प्रकाशित: १३ पुस २०७५ ०२:५८ शुक्रबार

चीन गुप्तचर_पूर्वप्रमुख मा_चियान आजीवन_कारावास