अन्तर्राष्ट्रिय

प्रसाद खाँदा भारतमा एघारको मृत्यु

नयाँ दिल्ली - भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ।

मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन्। प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन्। बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

घटनास्थलनजिकै रहेको स्वास्थ्य कार्यालयका अधिकृत के.एच.प्रसादले मन्दिरमा वितरण गरिएको प्रसादमा विषाक्त पदार्थ मिसिएको हुन सक्ने बताए। उनले सो विषाक्त खानाको परीक्षणका लागि प्रयोगशालामा लगिएको पनि जानकारी दिए। परीक्षण र अनुसन्धानपछि मात्रै सो खाना कसरी विषाक्त भयो भन्ने यकिन हुने उनको भनाइ छ। 

बिरामीहरूलाई बान्ता हुने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेलगायत लक्षणहरू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा शुक्रबार उक्त घटना भएको हो। एउटा विशेष धार्मिक कार्यक्रम भइरहेको सो मन्दिरमा आएकाहरूलाई प्रसाद वितरण गरिएको थियो।

प्रकाशित: २९ मंसिर २०७५ ०९:५१ शनिबार

भारत प्रसाद