अन्तर्राष्ट्रिय

ट्वाइलेट नबनाइदिएको भन्दै छोरीले बाबुलाई प्रहरी चौकी पुर्याइन्

नयाँ दिल्ली – मानिसका अनेक चाहना हुन्छन्। कसैका पूरा हुने खालका चाहना हुन्छन् भने कसैका कहिल्यै पूरा नहुने चाहना हुन्छन्। कसैका धैरै ठूला सपना हुन्छन्। कसैका साना सपना हुन्छन्। जनसंख्यका आधारमा विश्वकै सबैभन्दा दोस्रो ठूलो देश, भारतमा एक सात वर्षीय बालिकाको एउटा सपना पूरा नहुँदा आफ्नै बाबुविरुद्ध उनी प्रहरीको ढोकामा पुगेकी छन्।

घरमा ट्वाइलेट बनाइदिन्छु भन्ने बाबुले सो प्रतिबद्धता पूरा नगरेपछि ती बालिका प्रहरीसम्म पुगेको खबरले भारतीय सञ्चारमाध्यममा राम्रो स्थान पाएको छ। अर्थतन्त्रमा व्यापक सुधार गरिरहेको दाबी गर्ने भारतमा करोडौं मानिस अहिले पनि खुला क्षेत्रमा शौच गर्ने गरेका छन्। सरकारले घरघरमा ट्वाइलेट बनाउनका लागि विभिन्न खाले जनचेतनामूलक कार्य गरे पनि त्यसले त्यत्ति धेरै प्रभाव नपारेको  विभिन्न विश्लषेकहरुले बताउने गरेका छन्।

बाबुले ट्वाइलेट बनाइदिन्छु भनेर ढाँटेको भन्दै सात वर्षीया बालिका हानिफा जाराले प्रहरीलाई  एक पत्र लेखेकी छन्। उनले आफू बाबुले ढाँटेकाले उनलाई पक्राउ  गर्नु पर्ने पनि सो पत्रमा लेखेको बिबिसीले उल्लेख गरेको छ। उनले खुला ठाँउमा शौच गर्नु पर्दा आफूलाई अत्यन्तै लाज लाग्ने भएकाले बाबुलाई ट्वाइलेट बनाइदिन भनेको र बाबुले हुन्छ भनेर पनि सो प्रतिबद्धता पूरा नगरेको भन्ने व्यवहोराको पत्र प्रहरीलाई प्रेषित गरेकी छन्। अझै पनि धेरै भारतीयहरुको ट्वाइलेटमा पहुँच रहेको छैन। लगभग ५० करोड भारतीयले अहिले पनि खुला ठाउँमा शौच गर्ने युनिसेफले बताउने गरेको छ।ट्वाइलेट बनाइए पनि धेरै मानिसले अझै पनि प्रयोग गर्ने नगरेको बताइन्छ।

भारतको दक्षिणी तामिल नाडु राज्यको अम्बुर सहरमा आफ्ना बाबुआमासँगै बस्ने हानिफाको घरमा कहिले पनि ट्वाइलेट बनाइएको थिएन। हानिफाका अनुसार उनको समुदायका धेरै कम घरमा मात्रै ट्वाइलेटको सुविधा रहेको छ। उनले आफ्नो घरमा ट्वाइलेट बनाइदिन बाबुलाई भनेको तर बाबुले नबनाइदिएको बताएकी छन्। बाबुलाई त्यस्तो आग्रह गर्दा आफू नर्सरी कक्षामा पढ्ने गरेको हानिफाले बिबिसीसँग बताएकी छन्। ‘मलाई बाहिर शौच गर्न जान लाज लाग्थ्यो र जब मैले शौच गर्दैगर्दा कसैले देख्थ्यो मलाई धेरै नै नरमाइलो लाग्थ्यो,’ हानिफाले बताइन्। खुला क्षेत्रमा शौच गर्नाले निम्तिने स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्राप्त भएपछि घरमा ट्वाइलेट बनाउनु पर्ने रहेछ भन्ने जानकारी आफूलाई भएको पनि हानिफाले बिबिसीसँग बताइन्।

प्रहरीलाई उनले प्रेषित गरेको पत्रमा आफ्नो बाबुले यदि आफू कक्षामा प्रथम भए ट्वाइलेट बनाइदिन्छु भनेको पनि लेखेकी छन्। ‘मैले नर्सरीदेखि नै कक्षा टप गरिरहेकी छु,’ उनले पत्रमा लेखेकी छन्। ‘म अहिले दुई कक्षामा पढ्छु र पनि मेरा बाबाले ट्वाइलेट बनादिन्छु भन्न छोड्नु भएको छैन। ‘यो ठगीको एउटा प्रकार हो। त्यसैले उहाँलाई पक्राउ गरियोस्। यदि पक्राउ गरिएन भने पनि बाबुले कहिले ट्वाइलेट बनाइदिने हो भन्ने बारेको एउटा पत्रमा बाबालाई हस्ताक्षर गरिदिनुहोस्,’ हानिफाले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ।

छोरीले प्रहरीलाई गुहारेको विषयमा बिबिसीले सोधेको प्रश्नको जबाफ दिँदै उनका बाबु एसानुल्लाहले भने,‘छोरीको आग्रहबमोजिम ट्वाइलेट बनाउन सुरु गरे पनि पर्यात पैसा नभएका कारण पूरा गर्न सकिएन।’ उनी हाल बेरोजगार रहेका छन्। ‘मैले हानिफालाई ट्वाइलेट निर्माणका लागि थप केही समय दिन भनेको थिएँ। तर उनी मसँग बोल्नै छाड्नि किनभने मैले मेरो वचन पूरा गर्न सकेको थिइँन,’ उनले भने। बाबुले यस्तो बताए पनि हानिफलाई बाबुप्रति कुनै करुणा छैन। ‘एउटै विषयको माग गर्दै मैले कति भन्नु ?’ उनले बताइन्। पैसा नभएको भन्दै बाबुले जहिले पनि ठग्ने गरेकाले आफू प्रहरीकोमा गएको हानिफाको कथन रहेको छ।

बाबुविरुद्धको उजुरी लिएर उनी आफ्नी आमा मेहरीनसहित सोमबार विद्यालयनजिकैको प्रहरी चौकी पुगेकी थिइँन्। ‘झोलाभरी ट्रफी र योग्यताका आधारमा पाएको प्रमाणपत्र बोकेर उनी आइन् र मेरो टेबलभरी छरिन्,’ प्रहरी अधिकारी ए.भालामार्थीले बिबिसीसँग बताए। उनले ती ट्रफी र प्रमाणपत्र देखाएर आफूलाई ट्वाइलेट दिन सक्नुहुन्छ भन्दै प्रश्न गरेको ती प्रहरी अधिकारीले बताए। हानिफाले यस्तो बताएलगत्तै आफूले उनको बाबुलाई बोलाएको भालामार्थीले बताए। ‘उनी आफ्नी छोरी र पत्नीलाई केही भएको कि भनेर दौडिँदै प्रहरी चौकी आएका थिए। तर पछि जब उनले छोरी प्रहरी चौकी आउनुको कारण थाहा पाए, उनी अचम्मित भए,’ प्रहरी अधिकारी भालामार्थीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। हानिफा आफैले लेखेको पत्रको विस्तृत विवरण पढेपछि  हानिफाले आफूले पत्र लेखेको देखेर कसरी औपचारिक पत्र लेख्नुपर्छ भनेर जानेको उनका बाबुले बताए। हानिफाका बाबु एसानुल्लाह प्राय गाउँलेका पेपरवर्क र आधिकारिक पत्र लेखिदिने गरेका थिए। ‘यो मविरुद्ध नै लेखिन्छ भन्ने मैले सोचेको थिइँन,’ उनले बताए।

हानिफाको प्रयास र सहासलाई लिएर प्रहरीको सहानुभूति मिलेको थियो। ‘बाबुविरुद्धको उनको उजुरी अत्यन्तै निर्दोष खालको थियो, त्यसैले हामीले सो मुद्दा मिलाउन खोज्यौं,’ प्रहरी अधिकारी भालामार्थीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। हानिफाको पत्रले उनको छिमेकी क्षेत्रमा ५०० वटा ट्वाइलेट बनाइदिन लागेका सरकारी अधिकारीको ध्यानाकर्षण भएको बताइएको छ।

प्रकाशित: २७ मंसिर २०७५ ०९:०५ बिहीबार

ट्वाइलेट छोरी बाबु प्रहरी_चौकी