अन्तर्राष्ट्रिय

क्याटलोनियालाई स्पेनको चेतावनी

शनिबार बन्द गरिएको एपी–सेभेन सडक। तस्बिर : एजेन्सी

म्याड्रिड – विखण्डनवादीको अवरोधलाई सहन गरे क्याटलोनियामा राष्ट्रिय प्रहरी पठाउने क्याटलन प्रशासनलाई स्पेन सरकारले चेतावनी दिएको छ।

फ्रान्स र क्याटलोनियाको तटीय क्षेत्र जोड्ने एपी–सेभेन मोटरवेलाई विखण्डनवादीहरुले शनिबार बन्द गरेको विषयमा प्रतिक्रिया जनाउँदै स्पेनका मन्त्रीहरुले क्याटलन नेतृत्वलाई केन्द्रीय प्रहरी पठाउने चेतावनी दिएको बिबिसीले जनाएको छ। विखण्डनवादीले प्रदर्शन गरेर मुख्य सडकखण्ड बन्द गर्दा पनि क्याटलोनियाको प्रहरी फौज ‘मोसोस’ मुकदर्शक बनेको आरोप म्याड्रिडले लगाएको छ। स्पेनको सत्तारुढ समाजवादी दलले क्याटलोनियाको स्वतन्त्रता आन्दोलनको विरोध गर्दै आएको छ।

स्पेनबाट क्याटलन क्षेत्रलाई स्वतन्त्र गर्नु पर्ने माग अघि सार्दै लामो समयदेखि क्याटलोनियामा आन्दोलन भइरहेका छन्। गत वर्ष विवादास्पद जनमत संग्रहमार्फत् क्याटलन क्षेत्रलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरिएपछि स्पेनले प्रत्यक्ष शासन लागू गरेको थियो। सात महिनासम्म स्पेनको प्रत्यक्ष शासन भएपछि मे महिनामा भएको निर्वाचनमा क्याटलन राष्ट्रवादीहरुले पुनः बार्सिलोनाको शक्ति हातमा लिन सफल भएका थिए।

भोक हड्ताल
क्याटलोनियाका राष्ट्रपति कार्लेस पुइगडेमन्टलाई देशद्रोह गरेको मुद्दा लगाइएपछि म्याड्रिडको रबैयाप्रति कैयौं क्याटलन निवासीले विरोध गरेका थिए। क्याटलोनिया र स्पेनबीच अहिले पनि तनाब जारी नै रहेको छ। देशद्रोह गरेको आरोपमा पूर्वराष्ट्रपति पुइगडेमन्ट र अन्य कैयौं व्यक्तिविरुद्ध स्पेनी अदालतमा मुद्दा दायर गरिएको थियो।

अहिले पनि स्वतन्त्र क्याटलन पक्षधर नौ जना स्पेनी अदालतमा मुद्दा खेपिरहेका छन्। जेलमा रहेका ती नौ जनामध्ये चारजनाले भोक हड्ताल गरिरहेको र अहिले दोस्रो सातामा प्रवेश गरेको बिबिसीले उल्लेख गरेको छ। जोर्डी सान्चेज, जोर्डी टुरुल, जोसेप रुल  जोकिम फर्नले आफ्नो पुनरावेदनको दाबीलाई स्पेनी अदालतले लम्बाइरहेको आरोप लगाउँदै भोक हड्ताल गरिरहेको बिबिसीले जनाएको छ।

स्वतन्त्र क्याटलोनिया पक्षधरको समूह ‘कमिटी टू डिफेन्ड द रिपब्लिक (सिडिआर)ले गत शनिबार बार्सिलोना तट र फ्रान्स जोड्ने प्रमुख मार्ग एपी–सेभेन १५ घण्टासम्म बन्द गरेको थियो। उनीहरुले स्पेनी  जेलमा भोक हड्ताल गरिरहेको स्वतन्त्र क्याटलोनिया पक्षधर नेताहरुको समर्थनमा सो मार्ग बन्द गरेको बताइएको छ। त्यसैगरी सिडिआरका अभियन्ताहरुले आइतबार फ्रान्स जोड्ने मोटरवेको अवरोध हटाइदिएका थिए, जसले गर्दा मोटर चालकहरुलाई कुनै पनि शुल्क नतिरी बार्सिलोना छिर्न सहज भएको थियो।

प्रदर्शनकारीले मुख्य सडकखण्ड बन्द गरेर अवरोध सिर्जना गर्दा पनि क्याटलोनिया प्रहरीले केही नगरेको भन्दै आक्रोशित म्याड्रिडका आन्तरिक मन्त्री फर्नान्डो ग्रान्डी–मार्लास्काले चेतावनीयुक्त पत्र क्याटलोनिया पठाएको बिबिसीले उल्लेख गरेको छ। उनले मोसोस्ले आफ्नो कर्तव्य राम्रोसँग पूरा नगरे स्पेनसँग क्याटलोनियामा केन्द्रीय पठाउने अधिकार रहेको समेत जिकिर गरेका छन्। उनले देशको सुरक्षा कानुनअनुसार त्यस्तो कदम चालिने चेतावनी पनि दिएको बिबिसीले जनाएको छ।

‘मोसोस्ले आफ्नो कर्तव्य राम्रोसँग पूरा गरोस् भन्ने म्याड्रि चाहन्छ,’ मन्त्री मार्लास्कालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। उनले यदि मोसोस्ले आफ्नो कर्तव्य राम्रोसँग पूरा नगरे राज्य सुरक्षा फौजले हस्तक्षेप गर्नसक्ने चेतावनी दिएका छन्। बार्सिलोनामा ठूलो राष्ट्रजवादी प्रदर्शन भए पछि डिसेम्बर २१ मा हुने भनिएको स्पेन र क्याटलन मन्त्रीहरुबीचको बैठक नहुने हो कि भन्ने चिन्ता बढेको छ। स्पेनले आफ्ना मन्त्रीहरुको सुरक्षाका लागि केन्द्रीय सुरक्षाकर्मी पठाउने बताइसकेको छ।

प्रकाशित: २६ मंसिर २०७५ ००:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App