अन्तर्राष्ट्रिय

इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए

इस्लामाबाद- अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै विशेषदूत यहाँ आएका हुन। 

अफगान युद्धको शान्तिपूर्ण समाधानको उपायको खोजी गर्ने सिलसिलामा अमेरिकी दूत खलिलजादले पाकिस्तानका अलावा अफगानिस्तान, रसिया, उज्बेकिस्तान, तुर्कमेनिस्तान, बेल्जियम, युनाइटेड अरब इमिरेट्स र कतारको भ्रमण गर्नेछन्। 

अमेरिका र अफगानिस्तानले लामो समयदेखि तालिबानका गतिविधिमाथि नियन्त्रण नगरेको र आँखा चिम्लिएको आरोप लगाउँदै आएका छन्। तालिबानको नेतृत्व र उच्च कमान्डरहरु पाकिस्तानमा रहेको अमेरिकी आरोप छ। 

इस्लामाबादले तालिबानलाई खासै संरक्षण नगरेको तर अफगानिस्तानको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएको छ। एपी 

प्रकाशित: १८ मंसिर २०७५ ०९:१७ मंगलबार

पाकिस्तान अमेरिकी_विशेषदूत अफगानिस्तान_युद्ध