अन्तर्राष्ट्रिय

हत्यारा जोगाएको आरोपमा श्रीलंकाली सुरक्षा प्रमुख पक्राउ

रभिन्द्र विजेगुनेरात्ने

कोलम्बो – देशमा भएको गृहयुद्धका बेला भएका हत्यालाई लुकाएको आरोपमा श्रीलंकाका एक उच्च् सैन्य अधिकारीलाई नियन्त्रणमा लिइएको छ।

श्रीलंकाली सुरक्षाका प्रमुख कर्मचारी रभिन्द्र विजेगुनेरात्नेविरुद्ध पक्राउ वारेन्ट जारी भएपछि उनी आफै अदालतसमक्ष हाजिर भएको बिबिसीले उल्लेख गरेको छ। विखण्डनवादी तामिल विद्रोहीसँगको अन्तिम चरणको युद्धका बेला सन् २००८–२००९ मा ११ जना युवाको हत्यामा मुख्य शंकास्पद मानिएका एक नौसैनिक अधिकारीलाई जोगाएको आरोपमा रक्षा प्रमुख विजेगुनेरात्नेविरुद्ध पक्राउ आदेश जारी भएको श्रीलंकाली अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। विजेगुनेरात्ने हाल हिरासतमा रहेको बताइएको छ।

उनले भने आफूमाथि लागेको अभियोग अस्वीकार गर्दै आइरहेका छन्। राजधानी कोलम्बोस्थित अदालतले उनलाई डिसेम्बर ५ सम्म हिरासतमा राख्न अनुमति प्रदान गरेको बताइएको छ। विजेगुनेरात्नेलाई पक्राउ गर्नका लागि यसै महिनाको सुरुमा तीनवटा पक्राउ आदेश जारी गरिएको थियो। यद्यपि अदालतका म्याजिस्ट्रेटसमक्ष हाजिर हुन उनलाई यतिका दिन लागेको छ।

अदालतमा हाजिर हुँदा विजेगुनेरात्ने सैनिक पोसाकमा नौसेनाका अधिकारीको सुरक्षामा आफ्ना समर्थकसहित उपस्थित भएको बिबिसीले उल्लेख गरेको छ। जमानतमा रिहा हुन उनले अदालतसमक्ष गरेको याचना खारेज गरिएको छ। अदालतमा विजेगुनेरात्नेविरुद्ध कारबाही चलिरहेको समाचार संकलन गर्दै गर्दा आफूहरुमाथि सांघातिक आक्रमण भएको कैयौं पत्रकारले बताएका छन्।

सरकारी र विद्रोही पक्ष दुवैमाथि एकअर्काविरुद्ध अत्याचार गरेको आरोप लागेको श्रीलंकाली गृहयुद्ध अन्त्य गर्नका लागि हजारौं तामिल र विद्रोही नेतृत्व मारिएका थिए। कैयौं मानवअधिकारवादी संघ–संस्थाले श्रीलंकाली गृहयुद्धका बेला मानवअधिकारको उल्लंघन गर्नेविरुद्ध मुद्दा चलाउन पटकपटक माग गर्दै आइरहेका छन् तर त्यस्तो हुने सकेको छैन।

गृहयुद्धका बेला ११ जनाको हत्या गरेको र श्रीलंकाली रक्षा प्रमुखले संरक्षण गरेको भनिएका सैनिक अधिकारीलाई भने अगस्ट महिनामा पक्राउ गरिएको थियो। ११ जनामध्ये अधिकांश तामिल समुदायका रहेका थिए। उनीहरुको शव हालसम्म नभेटिएको बिबिसीले उल्लेख गरेको छ।

श्रीलंकामा २६ वर्षसम्म चेलेको गृहयुद्धका कारण दुवै पक्षका गरेर कम्तीमा एकलाख भन्दा बढी मानिसको मृत्यु भएको थियोृ। उत्तरी श्रीलंकामा रहेका अल्पसंख्यक तामिलका लागि छुट्टै देश माग्दै तामिल टाइगर्स नामक एक विद्रोही समूहले श्रीलंकाली सरकारविरुद्ध द्वन्द्व सुरुवात गरेको थियो। २६ वर्ष लामो गृहयुद्ध समाप्त गर्नका लागि महेद्रा राजापाक्षे नेतृत्वको सरकारले गरेको कारबाहीको अन्तिम महिनातिर भएका हजारौं सर्वसाधारण मानिसको हत्याको भने अझै पनि निश्चित संख्या सार्वजनिक भएको छैन।

श्रीलंकाली गृहयुद्धको अन्तिम महिनातिर तामिल टाइगर्सको आधार इलाकामा देशको उत्तर–पूर्व क्षेत्रका लाखौं तामिल सर्वसाधारण फसेका थिए। गृहयुद्धको अन्तिम समयमा सरकारी पक्षले ठूलो मात्रामा क्षति पुर्याएको आरोप लागेको थियो भने विद्रोही पक्षले भने सर्वसाधारण मानिसलाई मानव ढाल बनाएको आरोप लागेको थियो। सरकारी पक्षबाट बच्नका लागि तामिल विद्रोहीले सर्वसाधारणलाई मानव ढाल बनाएको विवरण त्यसबेला बाहिरिएका थिए।

एउटा स्वतन्त्र अनुसन्धान विवरणअनुसार श्रीलंकाली गृहयुद्धको अन्तिम पाँच महिनामात्रै करिब ४० हजार मानिस मारिएका थिए। अन्य अनुसन्धान विवरणले त यो संख्या भन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने बताउने गरेका छन्। च्यानल फोर र संयुक्त राष्ट्रसंघले श्रीलंकाली गृहयुद्धका बेला कयौं अत्याचारका घटनालाई लिपिबद्ध गरेको बिबिसीले जनाएको छ। तामिल विद्रोहीका मुख्य नेताको हत्या र अन्य नेताले आत्मसमर्पण गरेपछि श्रीलंकामा २६ वर्षदेखि सञ्चालित गृहयुद्ध समाप्त भएको घोषणा गरिएको थियो।

प्रकाशित: १३ मंसिर २०७५ ०८:२० बिहीबार

श्रीलंका उच्च्_सैन्य_अधिकारी रभिन्द्र_विजेगुनेरात्ने