अन्तर्राष्ट्रिय

कारले ठक्कर दिँदा बाटो हिँडीरहेका ७ जनाको मृत्यु

बेइजिङ – दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ।

दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको हो। सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो।

यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिइ सातजनाको घटनास्थलमै निधन भएको बताइएको छ। यस दुर्घटनामा परी अरु चार जना नराम्ररी घाइते भएका छन्। उनीहरुलाई नजिकैको अस्पताल पुर्याइएको छ।

एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा सात जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्काे दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ। मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सो दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन।

प्रहरीले विज्ञप्ति प्रकाशन गरेर उक्त घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७५ १०:२८ मंगलबार

चीन कार_दुर्घटना