अन्तर्राष्ट्रिय

इस्लामिक स्टेटका प्रवक्ता मारिए

अफगानिस्तान - सुरक्षाफौजको कारबाहीमा अफगानिस्तानमा सक्रिय लडाकू समूह इस्लामिक स्टेट (आइएस) का एकजना प्रवक्ता मारिएका छन्।

पूर्वी नान्गाहारमा आइएसका प्रवक्ता एवं प्रचार प्रमुख सराफात साफाकको मृत्यु भएको सरकारी सेनाको तर्फबाट आइतबार जारी वक्तव्यमा उल्लेख गरिएको छ। अफगानिस्तानको डेह बाला जिल्लामा भएको सुरक्षा कारबाहीका क्रममा ती प्रवक्ताको मृत्यु भएको हो। प्रवक्ताको मृत्यु भएको बारेमा अरु थप विवरण नदिए पनि यस्ता सुरक्षा कारबाही भने देशभरी नै आक्रामक रुपमा जारी रहेको सेनाले जानकारी दिएको छ। आफ्ना प्रवक्ता मारिएको सेनाको दावीका बारेमा आइएस लडाकूका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। 

प्रकाशित: ९ मंसिर २०७५ १३:४८ आइतबार

अफगानिस्तान इस्लामिक_स्टेट