अन्तर्राष्ट्रिय

कर्नाटक बस दुर्घटनामा २८काे मृत्यु

नयाँ दिल्ली - भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ। मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन्।

दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले बसमा कति जना यात्रा गरिरहेका थिए भन्ने बिषयमा केही बताएको छैन। तर दुर्घटना  तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ। 

स्थानीय सञ्चारमाध्यमले भने बसमा ३५ जना यात्रा गरिरहेका बताएका छन्। घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेका थिए। 

यसैबीच कर्नाटकका मुख्यमन्त्री एच. डी कमास्वामीले दुर्घटनामा परेका पीडितका परिवारलाई राहत सहयोग गर्ने बताएका छन्।भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी १ लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन्।  भारतमा हुने सडक दुर्घटना प्रायः कमजोर सडक संरचना, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुनेगरेको छ। 

सेप्टेम्बरमा कर्नाटकको छिमेकी तेलङ्गना राज्यमा भएको बस दुर्घटनामा पनि ५० जनाको ज्यान गुमेको थियो भने गत बिहीबार मध्यप्रदेशमा यात्रुवाहक बस विद्यार्थी बोकेको भ्यानसँग ठक्कर खाँदा छ जना विद्यार्थीको मृत्यु भएको थियो।रासस 

प्रकाशित: ८ मंसिर २०७५ ११:४३ शनिबार

कर्नाटक बस_दुर्घटना मृत्यु