अन्तर्राष्ट्रिय

अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य हुन्न’

बेइजिङ – वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोप बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ।

विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका बेला चीन र अमेरिकाबीच आक्रामक भनाइहरु आइरहेका छन्।

चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानको अद्यावधिक गर्दै गत मंगलबार वासिङ्टनले चीनले आफ्ना ‘गलत’ व्यापारिक गतिविधिलाई परिवर्तन गर्न तदारूकता नदेखाएको र  पछिल्ला केही महिनायता अझै अविवेकी कार्य गर्न उद्दत बनेको देखिएको बताएको थियो। बिहीबार सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको भनाइको खण्डन गरेको छ।

‘वासिङ्टनले तथाकथित अपडेट रिपोर्टको नाममा चीनमाथि विल्कुलै आधारहीन र तथ्यरहित आरोपहरू लगाएको छ, जुन चीनलाई सह्य छैन,’ मन्त्रालयलका प्रवक्ता गाओ फेङले बताए। चीनले रोबोटिक्स र नवीकरणीय उर्जा क्षेत्रमा विभिन्न गैरकानुनी उपायमार्फत नियन्त्रण राख्दै विश्व औद्योगिकिकरणमा प्रभाव जमाउन खोजेको अमेरिकी अधिकारीहरूले दाबी गरेका थिए। अधिकारीहरूले चीनले आफ्नो भूमिमा रहेका अमेरिकी कम्पनीहरूलाई दबाबमा पारेर अमेरिकी बौद्धिक सम्पत्ति चोरेको आरोप पनि लगाएका थिए।    

यसै बिषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट अमेरिका निर्यात गरिने दुई खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेको थियो। बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याइने एक खर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धि गरेको थियो।

‘हामी चाहन्छौं अमेरिकाले दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई बिगार्ने किसिमका भनाइ तथा गतिविधिलाई रोकोस् र सम्बन्धलाई पुरानो अवस्थामा ल्याउन रचनात्मक धारणाको अवलम्बन गरोस्,’ गाओले सञ्चारकर्मीसँग बताए।     

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नोभेम्बर अन्त्यमा अर्जेन्टिनामा हुने जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा व्यापार विवादबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ७ मंसिर २०७५ ०६:०७ शुक्रबार

वासिङ्टन बेइजिङ गैरकानुनी_व्यापार_गतिविधि