अन्तर्राष्ट्रिय

भारतीय राष्ट्रपति र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता

तस्बिर : एजेन्सी

सिड्नी - अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन्। चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका थिए।

भारतीय राष्ट्रपति कोविन्द, उनकी श्रीमती सविता लगायतलाई अस्ट्रेलियाका उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए। अष्ट्रेलिया भ्रमणको विहिबार दोस्रो दिन भारतीय राष्ट्रपति कोविन्दले वरिष्ट अष्ट्रेलियाली अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। त्यसैगरी उनले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५० औँ जन्मजयन्तीको उपलक्ष्यमा अनावरण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति कोविन्द यहाँ आयोजना हुने दुई देशीय व्यापारिक सम्मेलनमा समेत सहभागी हुनु हुनेछन्। यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा रहेका थिए। उनले भियतनामको राष्ट्रिय सभालाई सम्बोधन गर्नुका साथै त्यहाँका राष्ट्रपतिसँग समेत भेटवार्ता गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७५ १०:०९ बिहीबार

भारतीय_राष्ट्रपति रामनाथ_कोविन्द अस्ट्रेलियाका प्रधानमन्त्री स्कट_मोरिसन