अन्तर्राष्ट्रिय

‘साउदी युवराजकै आदेशमा खसोग्गीको हत्या’

टर्कीको इस्तानबुलस्थित फातिह मस्जिदको प्रांगणमा शुक्रबार आयोजित पत्रकार जमाल खसोग्गीको सांकेतिक अन्त्येष्टि प्रार्थनामा सहभागी । तस्बिर : एजेन्सी

वासिङ्टन – पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी युवराज मोहम्मद बिन सलमानले नै आदेश दिएको अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)ले अनुमान गरेको छ।

टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा अक्टोबर २ का दिन हत्या गरिएका पत्रकार खसोग्गीको हत्यामा युवराज सलमानकै हात रहेको भन्ने कुरामा अमेरिकी गुप्तर निकाय सिआइए निष्कर्षमा पुगेको सिआइएसँग नजिक स्रोतले शुक्रबार जनाएको छ । अमेरिकी गुप्तचर निकायको यस्तो निष्कर्षपछि आफ्नो प्रमुख साझेदार साउदी अरबसँगको सम्बन्धलाई जोगाउन प्रयासरत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असहज अवस्थामा पुर्याएको छ।

अमेरिका निवासी पत्रकार खसोग्गी हत्याबारे आफूले गरेको अध्ययनको विवरण सिआइएले देशको संसद्सहित अमेरिकी सरकारको अन्य अंगलाई जानकारी गराइसकेको स्रोतले उद्धृत गरेको छ । रियादले खसोग्गी हत्याका लागि युवराज सलमानले आदेश नदिएको बताए पनि सिआइएको अनुसन्धान प्रतिवेदन भने सो भनाइसँग बाझिएको छ।

खसोग्गी हत्याबारे सिआइएले गरेको अनुसन्धान विवरण सर्वप्रथम वासिङ्टन पोस्टले रिपोर्टिङ गरेको थियो । सिआइएको अनुसन्धान विवरण नै साउदी अरबका शक्तिशाली शासककै आदेशमा पत्रकार खसोग्गीको हत्या भएको भन्ने विषयको हालसम्मको विस्तृत अमेरिकी अनुसन्धान भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । वासिङ्टनस्थित साउदी दूतावासले भने सिआइएको अनुसन्धानलाई अस्वीकार गरेको छ।

‘साउदी युवराजले आदेश दिएर पत्रकार खसोग्गी हत्या भएको भनेर दाबी गरिएको अनुसन्धान विवरण झुटा हो,’ राजदूतावासकी प्रवक्ताले जारी गरेको एउटा विज्ञप्तिमा जनाइएको छ । ‘यी अनुमानका प्रारम्भिक आधार नै नहेरी हामीले निरन्तर थुप्रै कुराहरु सुनिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ । उता, पपुवा न्यू गिनीको भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आफूसँगै गएका पत्रकारहरुलाई आफूले वर्गीकृत सूचनाका आधारमा प्रतिक्रिया जनाउन नसक्ने बताएका छन् । ‘पत्रकार जमाल खसोग्गीको हत्या अत्याचारको नमूना हो । यो स्वतन्त्र र निष्पक्ष प्रेसमाथिको अपमान पनि हो । हत्यामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनका लागि अमेरिका प्रतिबद्ध छ,’ उनले बताए । यद्यपि वासिङ्टनले साउदी अरबसँगको सम्बन्ध संरक्षण गर्न चाहेको उनले बताए । सिआइएको अनुसन्धान विवरणमाथि अमेरिकी विदेश मन्त्रालयले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले पत्रकार खसोग्गीको हत्यामा संलग्नलाईसाउदी अरबले कानुनी कारबाहीमा ल्याउनुपर्ने बताइरहेको छ । सँगसँगै उसले साउदीसँगको गठबन्धनमा जोडसमेत दिइरहेको छ । विश्व बजारमा प्रमुख तेल निर्यातकर्ता साउदी अरबले खाडी क्षेत्रमा इरानलाई चुनौती दिनसक्ने साउदी अरबमात्रै भएकाले रियादसँगको सम्बन्धलाई मजबुत बनाउनु पर्ने अमेरिकी अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैकारण पनि राष्ट्रपति ट्रम्पले साउदीसँगको हतियार व्यापारलाई रोक्न चाहेका छैनन् । खसोग्गी हत्यामा भूमिका रहेको भन्दै ट्रम्प प्रशासनले १७ साउदी नागरिकमाथि बिहीबार प्रतिबन्ध लगाए पनि कतिपय अमेरिकी सांसदहरुले साउदीविरुद्ध कडा कदम चाल्नुपर्ने र सिआइएको अनुसन्धान विवरणलाई मान्नुपर्ने बताएका छन्।

कुनैबेला शक्तिशाली साउदी राजपरिवारनिकट खसोग्गी पछिल्लो समय साउदी सरकारको कडा आलोचक थिए । वासिङ्टन पोस्टका सतम्भकार खसोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा अक्टोबर २ का दिन हत्या भएको थियो । टर्कीकी एक महिलासँग वैवाहिक सम्बन्ध गाँस्नका लागि पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदसम्बन्धी कागजात लिन गएका बेला उनको हत्या भएको थियो । अमेरिका बसिरहेका खसोग्गीलाई साउदी फर्कन रियादले दबाब दिइरहेको थियो । यद्यपि उनले भने त्यस्तो दबाबलाई बेवास्ता गर्दै आइरहेका थिए । इस्तानबुलस्थित साउदीको महावाणिज्य दूतावासमा खसोग्गीसँग डिलगर्न १५ साउदी अधिकारी पठाइएको र उनलाई देश फर्कन जबरजस्ती गर्ने क्रममा दुर्घटनावश उनको मृत्यु भएको रियादले दाबी गर्दै आएको छ।

साउदीले शुक्रबारमात्रै पत्रकार खसोग्गी हत्यामा संलग्न अपराधीको पहिचान भइसकेको भन्दै युवराज मोहम्मदलाई क्लिन चिट दिएको थियो । साउदीका सार्वजनिक अभियोजनकर्ताले खसोग्गी हत्यामा संलग्न पाँचजनालाई मृत्युदण्ड दिइने बिहीबार बताएका थिए । उनले खसोग्गी हत्यामा पाँचजनाको संलग्नता रहेको बताए पनि ती व्यक्तिहरुका नाम भने सार्वजनिक गरिएको छैन।

प्रकाशित: २ मंसिर २०७५ ०४:१७ आइतबार

पत्रकार जमाल_खसोग्गी सिआइए