अन्तर्राष्ट्रिय

विपक्षी नेताले चुनाव लड्न पाउने

सुभा – फिजीको एक उच्च अदालतले मुख्य विपक्षी पार्टीका नेता सिटीभेनी राबुकामाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज गरेको छ । अदालतको आदेशसँगै उनलाई आगामी संसदीय चुनाव लड्न पाउने बाटो खुलेको छ । सोडेल्पा पार्टीका अध्यक्ष राबुकाले आफूमाथि राजनीतिक प्रेरित भ्रष्टाचार मुद्दा लगाएर चुनावमा उठ्न नदिने षडयन्त्र भएको बताउँदै आएका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका राबुकामाथिको भ्रष्टाचारको मुद्दामा सुभास्थित उच्च अदालतले सफाई दिएको हो । उनीविरुद्ध फिजी स्वतन्त्र भ्रष्टाचार नियन्त्रण आयोगले मुद्दा चलाएको थियो । सोमबार फैसला सुनाउँदै मुख्य न्यायाधीश एन्थोनी गेट्सले राबुकामाथिका आरोपमा तथ्य र प्रमाणको अभाव रहेको बताए । अदालत परिसर बाहिर भेला भएका सोडेल्पा समर्थक खुशीले नाचगान गरेका थिए । त्यस अवसरमा अध्यक्ष राबुकाले आफ्ना समर्थक सबैलाई धन्यवाद दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

राबुकाको नेतृत्वमा सन् १९८० को दशकमा दुइपटक सत्ता विद्रोह भएको थियो भने सन् १९९२ देखि १९९९ सम्म फिजीको प्रधानमन्त्री बनेका थिए । उनले सत्तारुढ फिजी फस्र्ट पार्टीलाई चुनौती दिइरहेका छन् । फिजी फस्र्ट पार्टीका नेता प्रधानमन्त्री फ्रान्क बैनीमारामाले सन् २००६ मा रक्तपातविहीन सत्ता विद्रोह गरेका थिए । सन् २०१४ को निर्वाचनमा विजयी हुनुअघि उनले स्वेच्छाचारी रूपमा सरकार सञ्चालन गरेका थिए । फिजीमा हालैका दिनमा भएका सर्वेक्षणमा बैनीमारामाले नै चुनाव जित्ने अनुमान गरिएका छन्।

प्रकाशित: २७ कार्तिक २०७५ ०१:२६ मंगलबार

फिजी विपक्षी_नेता चुनाव