अन्तर्राष्ट्रिय

अमेरिकी संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

तस्बिर : एजेन्सी

सिकागाे - अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गराएका छन्। निर्वाचित दुबै जना डेमोक्र्याटका हुन्।

निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर रहेकी छन्। मिन्नेसोटा प्रदेशमा उनी विजयी भएकी हुन्। त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित भएकी छन्। प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ। 

संसद्मा उनीहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि निर्वाचित भएका छन्। संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन रहेका छन्। उनी इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन्। उनी डेमोक्र्याट पार्टीका हुन्। अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनीहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ। 

प्रकाशित: २१ कार्तिक २०७५ ०७:३३ बुधबार

अमेरिका मुस्लीम_महिला