अन्तर्राष्ट्रिय

अमेरिकी प्रतिबन्धविप्रति इरान आक्रोशित

तेहरान (बिबिसी) – संयुक्त राज्य अमेरिकाले इरानी अर्थतन्त्रको प्रमुख भागलाई लक्षित गरी पुनः प्रतिबन्ध लगाएपछि तेहरान आक्रोशित भएको छ।

इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी प्रतिबन्धलाई तोडेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इरानको आणविक कार्यक्रम रोक्ने शर्तमा विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौतापछि अमेरिकाले तेहरानविरुद्धको प्रतिबन्ध हटाएको थियो । तर मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सो सम्झौतबाट फिर्ता हुने घोषणा गरेसँगै पुनः इरानमाथि सबै प्रकारका प्रतिबन्ध लागू गरिँदै छ।

अमेरिकी प्रतिबन्धका कारण इरानको तेल निर्यात, सिपिङ र बैंक मुख्य रूपमा प्रभावित हुने बताइएको छ । अमेरिकी प्रतिबन्धपछि तेलका लागि धनी राष्ट्र इरानसँग अन्य देशलाई व्यापार गर्नसमेत कठिन हुने छ । तर इरानी राष्ट्रपति रौहानीले भने अमेरिकालाई चुनौती दिँदै इरानले तेल बेच्ने कार्यलाई निरन्तरता दिने बताएका छन्।

‘हामी गर्वका साथ प्रतिबन्ध तोड्ने छौं,’ देशका आर्थिक अधिकारीहरुसँगको बैठकमा राष्ट्रपति रौहानीले बताए।

इरानसँग सन् २०१५ मा भएको सम्झौतामा हस्ताक्षर गर्ने युरोपेली राष्ट्रहरु जर्मनी, फ्रान्स र बेलायतले भने आफूहरु सो सम्झौतामा अडिग रहेको बताउँदै आएका छन् । त्यसैगरी, सो सम्झौताका हस्ताक्षर अन्य दुई राष्ट्र रुस र चीनले पनि इरानसँगको सम्झौतामा आफूहरु प्रतिबद्ध रहेको बताउँदै आएका छन्।

इरानको आणविक कार्यक्रम रोक्न गरिएको सन् २०१५ को सम्झौतामा आफूहरु अझै अडिग रहेको बताउने युरोपेली राष्ट्रहरुले अमेरिकी प्रतिबन्धलाई बाइपास गर्नका लागि आफूहरुले इरानको व्यापारमा सहयोग गर्ने बताएका छन् । यद्यपि उनीहरुको यस्तो भनाइ अत्यन्तै द्विविधाग्रस्त देखिन्छ र अमेरिका बिना उनीहरुले कसरी इरानी अर्थतन्त्रलाई सहयोग गर्छन् भन्ने नै प्रश्नका विषय बनेको छ।

इरानसँग व्यापार गर्ने युरोपेलीलगायत विश्वका कुनै पनि कम्पनीलाई अमेरिकामा कुनै पनि व्यापार गर्न नदिने अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिने गरेका छन् । अमेरिकी प्रतिबन्ध पुनः लागू हुनुभन्दा पहिले नै इरानको अर्थतन्त्रले कठिन समयका साथ गुज्रिनु परेको छ । डलरविरुद्ध इरानको मुद्रा ‘रियाल’मा कमीका कारण पनि इरानले कठिन समयका साथ आफ्नो अर्थतन्त्रलाई अगाडि बढाइरहनु परेको छ।

अमेरिकाले हालसम्म गरेको सम्झौतामध्ये सबैभन्दा खराब सम्झौता भन्दै यसै वर्षको मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा भएको इरान आणविक सम्झौताबाट हात झिक्ने निर्णय गरेका थिए । ट्रम्पले सन् २०१५ को सम्झौता अपूर्ण भएको र त्यसलाई पुनः संशोधनसहित सम्झौता गर्नु पर्ने बताउँदै आएका छन् । उनले इरानले सम्झौताविपरित आणविक  कार्यक्रम सञ्चालन गरिरहेको आरोप पनि लगाउँदै आएका छन् । यद्यपि आणविक ह्वाचडग ‘आइएइए’ले भने इरानले सन् २०१५ को सम्झौतालाई कार्यान्वयन गरिरहेको बताउने गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरान पुनः वार्ताको टेबलमा आओस् भन्ने इच्छा राखेका छन् । तेहरानले साइबर हमला, ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र आतंकवादी संगठन तथा मध्यपूर्वका लडाकु समूहलाई समर्थन गरिरहेको भन्दै ट्रम्प प्रशासनले सो कार्य तत्काल बन्द गरिनु पर्ने माग पनि गर्दै आएको छ । इरानविरुद्ध आफूले दिएको अधिकतम प्रतिबन्धले काम गरिरहेको ट्रम्पले बताउने गरेका छन् । समग्र मध्यपूर्व नै लिन चाहिरहेको इरान आफ्नै दबाबका कारण बाँच्नमै संघर्षरत हुनु परेको ट्रम्पले बताएका छन्।

प्रकाशित: २० कार्तिक २०७५ ०२:१६ मंगलबार

संयुक्त_राज्य_अमेरिका अर्थतन्त्र