अन्तर्राष्ट्रिय

गैरकानुनी आप्रवासी राेक्न अमेरिकाले ५ हजार बढी सैनिक परिचालन गर्दै

तस्बिर : एजेन्सी

वासिङ्टन - अमेरिकाले गैरकानुनी आप्रवासीहरुको प्रवेश रोक्न मेक्सिकोसँगको सिमामा ५ हजार बढी सेना परिचालन गर्न लागेको छ। मध्य अमेरिकी मुलुकहरुबाट हजारौंको संख्यामा आप्रवासीहरु गैर कानुनीरुपमा मेक्सिको हुँदै अमेरिका छिर्नेक्रम नरोकिएपछी पेन्टागनले ५ हजार २ सय सैनिक सिमा नाकामा तैनाथ गर्न लागेको हो।

यस अघी नै अमेरिकाले सिमा नाकामा २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य राखिसकेको छ। हालै मात्र ग्वाटेमाला, होन्डुरस, एल सेल्भाडोर लगायत देशहरुबाट आश्रय र रोजगारीको खोजीमा अमेरिका प्रवेश गर्नकै लागि हजारौं आप्रवासीहरु मेक्सिकोको सिमामा पुगेका छन्। उनीहरु अमेरिकी सिमातर्फ आउने संभावनालाइ ध्यान दिँदै पेन्टागनले सेना परिचालन गर्न लागेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी रुपमा आप्रवासीहरुलाइ अमेरिका प्रवेशमा रोक लगाउने र उनीहरुले जबरजस्ती गरे सबै सहयोग कटौती गर्ने चेतावनी दिदै आएका छन्। राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी सीमा नाकातर्फ बढिरहेको आप्रवासीको लश्करमा आपराधिक समूहका सदस्य मिसिएको बताएका छन्। उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने बताउँदै समयमै उपयुक्त निर्णय गर्न र आफ्नै देश फर्कन आग्रह समेत गरेका छन्।

प्रकाशित: १३ कार्तिक २०७५ ०९:४९ मंगलबार

अमेरिका आप्रवासी