अन्तर्राष्ट्रिय

उडेको केही मिनेटमै विमान दुर्घटना

दुर्घटनाग्रस्त विमानको पाटपुर्जा संकलन गर्दै उद्धारकर्ता। तस्बिर : एजेन्सी

जकार्ता – चालक दलसहित एक सय ८८ यात्रु बोकेर उडेको इन्डोनेसियाली लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान सोमबार बिहान समुद्रमा खसेको अधिकारीहरुले बताएका छन्।

इन्डोनेसियाको राजधानी जकार्ताबाट पश्चिमी सहर पाङकाल पिनाङ द्वीपका लागि उडेको सो विमानको १३ मिनेटभित्रै राडारको सम्पर्क टुटेको थियो । उडेको केही मिनेटपछि समुद्र माथिबाट कट्न लागेका बेलासो विमानको राडारसँगको सम्पर्क टुटेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

फ्लाइट नम्बर जेटी ६१० को सो विमान समुद्रमा दुर्घनाग्रस्त अवस्थामा भेटिएको छ । उद्दारकर्ताहरुले सो विमानको भग्नावशेषबाट केही शव र  बालबालिका जुत्तासहित केही व्यक्तिगत सामग्री निकालेको बिबिसीले उल्लेख गरेको छ।

दुर्घटनामा कोही मानिस जीवितै भेटिने सम्भावना नभएको बताइएको छ । अगस्ट महिनादेखि उडान भर्न थालेको सो विमान दुर्घटना हुनुका कारण अझै स्पष्ट भइनसकेको बिबिसीले उल्लेख गरेको छ । बोइङ ७३७ म्याक्ससहित त्यसको अपडेटेड भर्जन ७३७ को पहिलो ठूलो दुर्घटना भएको बताइएको छ ।
‘विमानको मुख्य भग्नावशेष पत्ता लगाउनु छ,’ खोजी र उद्दार एजेन्सीका अपरेसनल निर्देशक बामबाङ सुर्योलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘अहिलेसम्म भेटिएका शरीरका अंगहरुको प्रकृती हेर्दा मलाई लाग्छ अब कोही जीवित छैनन्,’ उनले बताए।

सार्वजनिक भएको भिडियो फुटेजमा समुद्रको पानीमाथि विमानबाट चुहिएको तेल देखिएको छ । उडान नं. जेटी–६१० को उक्त हवाईजहाजमा एक सय ७८ जना वयस्क, एकजना शिशु, दुइ बालबालिका, दुइजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीले बताएका छन्।

इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफले पनि दुर्घटनाग्रस्त विमानमा सवार यात्रु एवं विमानको मुख्य अवशेषको खोजी भइरहेको बताए । उनले राडारसँगको सम्पर्क टुट्नुअघि विमानले जकार्ता नै फर्कनका लागि अनुरोध गरेको समेत जानकारी दिए । तर जहाज फर्कन नपाउँदै जाभा समुद्रमा खसेको बताइएको छ । इन्डोनेसियाका हजारौं द्वीपसँगको सम्पर्कका लागि विमान नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो तर हवाइ सुरक्षाका मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षमा इन्डोनेसियामा हवाइ दुर्घटनाको संख्या बढ्दै गएको छ । गत अगस्टमा पूर्वी इन्डोनेसियामा भएको हवाइ दुर्घटनामा आठ जनाको मृत्यु भएको थिए । त्यसबेला दुर्घटनामा एक १२ वर्षीय बालकमात्र बाँच्न सफल भएका थिए । अगस्ट २०१५ मा भएको अर्को दुर्घटनामा विमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०१४ मा एयर एसियाको विमान दुर्घटनाग्रस्त हुँदा एक ६२ जनाको ज्यान गएको थियो।

इन्डोनेसियामा हाल सञ्चालनमा रहेको लायन एयर सस्तो बजेट एयरलाइन्स हो । यो विमान कम्पनीका जहाज पटकपटक दुर्घटनामा परेको पाइएको छ । सन् २०१६ को मे महिनामा लायन एयरका दुईवटा विमान जकार्ताको सुकार्नो–हाट्टा विमानस्थलमा एकअर्कासँग ठक्कर खाएका थिए । सन् २०१३ मा एउटा लायन एयर जेट बालीको समुद्रमा खसेर दुर्घटना हुँदा विमान नै दुइ टुक्रा भएको थियो । यो दुर्घटनामा कसैको मृत्यु नभएपनि धेरै यात्रु घाइते भएका थिए।

प्रकाशित: १३ कार्तिक २०७५ ०३:३४ मंगलबार

विमान_दुर्घटना