अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अाउँदो नोभेम्बर २ देखि ५ तारिखसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन्।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री भएपछि खानको यो पहिलो चीन भ्रमण हो। खानको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुनेछन्। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा खानको भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।  त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ। भ्रमणका क्रममा खानले चीनसँग आपसी सहयोगका थुप्रै क्षेत्रमा सम्झौता गर्ने अपेक्षा गरिएको छ। 

प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाईको पनि भ्रमण गर्ने कार्यक्रम छ।उनले चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउने तालिका छ। पाकिस्तानी उत्पादनहरूको समेत प्रदर्शन गरिने एक्सपोमा खानले मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने पनि पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: ९ कार्तिक २०७५ ०९:३० शुक्रबार

इमरान_खान पाकिस्तान चीन_भ्रमण