अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा बलात्कारको घटना बढ्दोे, बालिकालाई आत्मरक्षाको तालिम

सोवेतो – दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठामा आजभोलि बालिका ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्।
उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नुपर्छ भन्ने सिक्दैछन् । थाबिसाङ स्कुलमा आत्मरक्षा र बलात्कारबाट जोगिन अभ्यास सिकाइने गरिएको छ।

अभ्यासका लागि कक्षाकोठाका डेस्क र कुर्ची भित्तामा ठड्याएर राखिएका छन् । सरकारी तथ्याङ्कमा दक्षिण अफ्रिकामा दैनिक एक सय १० भन्दाबढी बलात्कारका घटना हुने गरेको उल्लेख छ । तर यो संख्या सही नरहेको धेरैको बुझाइ छ किनभने बलात्कारका घटनाको रिपोर्टिङ यहाँ ज्यादै कम हुने गर्दछ । केही अध्ययनले १३ वटा बलात्कारका घटनामा एउटा मात्र मुद्दा प्रहरीसमक्ष पुग्ने देखाएका छन्।

पछिल्ला समाचारले दक्षिण अफ्रिकामा बलात्कारका घटनाको कहालीलाग्दो तथ्य सार्वजनिक गरेको छ । सेप्टेम्बरमा एक १७ वर्षीया किशोरीलाई चिकित्सकको भेषमा रहेका एक व्यक्तिले अस्पतालको प्रसूति वार्डमै बलात्कार गरे । अघिल्लो दिनमात्र ती किशोरीले बच्चा जन्माएकी थिइन् । त्यसै महिना एकजना सात वर्षीया बालिका राजधानी प्रिटोरियाको लोकप्रिय रेष्टुराँको शौचालयमा बलात्कृत भइन् । भिडियो फुटेजमा एक जना नग्न पुरुष भाग्दै गरेको देखिएको थियो । अफ्रिकी राष्ट्रिय कंग्रेसको महिला लिगले महिला सुरक्षाका सन्दर्भमा तत्काल कारबाही अघि बढाउनु पर्ने माग गर्दै आएको छ।   

‘हामीले सक्दो प्रयत्न गरेका छौं तर यौन आक्रमणका घटनामा कमी आएको देखिएन । त्यसर्थ, हामीले त्यस्ता पुरुषको रसायनयुक्त बन्ध्याकरण (केमिकल क्यास्ट्रेसन) गर्नुपर्ने माग गरिरहेका छौं,’ लिगका महासचिव मिओक्गो माटुवाले बताइन् । सोवेतोको अर्को कक्षाकोठामा पनि आत्मरक्षाको तरिका मात्र होइन कि बालिकालाई सम्भावित जोखिम कसरी थाहा पाउने र त्यसमाथि कस्तो प्रतिक्रिया जनाउने भनेर सिकाइँदै छ । ‘कोठामा असहज परिस्थिति देख्नासाथ त्यो कोठाबाट तुरुन्तै बाहिर निस्किहाल्नु, त्यहाँ नबस्नु,’ प्रशिक्षक डिमाकाट्सो मोनोकोली बालिकाहरुलाई सम्झाउँछिन् । ‘उनीहरुले एक किसिमको सन्देश दिइसके, त्यस्तो व्यक्तिसँग एक्लै बस्नै हुँदैन,’ उनले बालिकाहरुलाई सम्झाइन् । तैपनि त्यो व्यक्तिले आक्रमण गरिहाल्याने भने ? उनी भन्छिन्, ‘जतिसक्दो ठूलो स्वरले चिच्याउनु।’

मोनोकोली बालिकालाई आत्मरक्षाका बारेमा स्कुलहरुमा तालिम दिने दक्षिण अफ्रिकाको सामाजिक संस्था एक्सन ब्रेक्स साइलेन्स (एबीएस)का लागि काम गर्छिन् । यस संस्थाले अनुचित र हिंसात्मक व्यवहार रोक्न केटाका लागि कार्यक्रम पनि चलाउँछ।

एबिएसका संस्थापक देवी स्टेभन बालिका हुँदा आफैं पनि बलात्कृत भएकी थिइन् । उनले बलात्कारका विरुद्धमा विद्यालयमा कक्षा दिने र विभिन्न कम्पनीमा सुझाव दिने काम गर्दै आएकी छन् । यस कार्यमा उनले दशकौं बिताएकी छन् । उनले एएफपीसँग भनिन्, ‘दक्षिण अफ्रिकामा हिंसा सामान्य बन्दै गएको छ । तर यहाँ बलात्कारका घटना हुने गरेका छन् तर नागरिकले यसलाई बाहिर भन्नुभन्दा पनि मानिसलाई समान्यजस्तो भइसकेको छ।’   

उनको बालिकालाई आत्मरक्षाको तालिम र सचेतनासम्बन्धी मानसिक विषयका कार्यक्रमतर्फ आकर्षित गर्नुपर्ने सुझाव छ । ‘यस्तो तालिमले बालिकामा आत्मविश्वास दिलाउँछ,’ उनी बताउँछिन्।

धेरैजसो, यौनहिंसाका घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । स्टेभनले दक्षिण अफ्रिकामा आफ्नै साथी वा पूर्वसाथीबाट हरेक दिन दुइजना महिलाको हत्या हुने गरेको बताइन् । कक्षाकोठामा नीलो स्कुल पोशाक र लामा मोजा लगाएका बालिका बेलाबखत जिस्किन्छन् तर वातावरण निकै गम्भीर र केन्द्रिकृत हुने गर्दछ । ‘हामी तिमीहरुलाई थोरै जोड लगाएर पनि कसरी सहजै लड्ने कला सिकाउँछौं,’ एकजना पुरुष प्रशिक्षक बताउँछन्।

बालिकाले सहजै कान तान्न र नाक फुटाउन सक्ने कला उनले सिकाइरहेका थिए । ‘हामी लडाकु हौं,’ निकै उत्साहित देखिएकी ११ वर्षीया नोन्कुलुलेको बताउँछिन् । ‘मसँग एउटा अनौठो औषधि पनि छ, मान्छेलाई बेहोस पार्ने औषधि हो यो । यसले पनि लड्न मद्दत गर्दछ,’ उनी बताउँछिन् । एबिएसले १३ हजारभन्दा बढी बालबालिकालाई तालिम दिइसकेको छ । यो तालिमले सरकारलाई ठूलै मद्दत गरेको छ।

एकजना आमा माली मासोन्डोले हरेक परिवार र बालबालिकाको दैनिक जीवनमा बलात्कारको त्रास ज्यादै बढेको बताइन् । ‘कसलाई विश्वास गर्ने, कसलाई प्रेम गर्ने थाहा नै हुँदैन,’ उनी दुःखेसो पोख्छिन् । ‘कहिलेकाहिँ बच्चालाई कसैसँग बोल्न र हाँस्न दिँदा पनि डर लाग्दछ किनभने हरेक समय नकारात्मक कुरा नै मनमा खेलिरहन्छ,’ उनको भनाइ उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ। 

प्रकाशित: ३० आश्विन २०७५ ००:०९ मंगलबार

बलात्कार दक्षिण_अफ्रिका बालिका