अन्तर्राष्ट्रिय

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

तस्बिर : एजेन्सी

याङ्गुन - म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ। म्यानमारकी नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिका मार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ। अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना शर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन्। 

पक्राउ पर्नेमा इलेभन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन्। उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए। इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो। यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पक्राउ परेका पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले एएफपीलाई जानकारी दिए। यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो। राज्यको कानून उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिएको थियो। नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री सुकीको समर्थनमा भएका पछिल्ला गतिविधिले विश्वभरी नै उनका आलोचक बढ्दै गएका छन्। 

प्रकाशित: २४ आश्विन २०७५ १५:४५ बुधबार

म्यानमार पत्रकार आङ_साङ_सुकी