अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५७१ पुग्यो

तस्बिर : एजेन्सी

इन्डोनेसिया - इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार ५७१ पुगेको छ। इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए। भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुँदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसंघले बताएकाे छ।

इन्डोनेसियाको तटीय शहर पालुमा गत शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्प लगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५७१ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शनिवार बताए। भूकम्पबाट तटीय शहर पालु सबैभन्दा बढी प्रभावित भएको छ। भूकम्पका कारण करिव दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्य परेको र त्यसमा हजारौँ बालबालिका समेत रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो। 

प्रकाशित: २० आश्विन २०७५ १०:०१ शनिबार

इन्डोनेसिया भूकम्प सुनामी