अन्तर्राष्ट्रिय

स्वतन्त्र क्याटलनको पक्ष र विपक्षमा प्रदर्शन

स्वतन्त्र क्याटलन पक्षधर प्रदर्शनकारीलाई रोक्ने प्रयास गर्दै क्याटलन प्रहरी। तस्बिर : एजेन्सी

बार्सिलोना – स्वतन्त्र क्याटलनको पक्ष र विपक्षमा शनिबार स्पेनको बार्सिलोनामा भएको प्रदर्शनका कारण सो क्षेत्र तनाबग्रस्त बनेको छ। 

स्पेनको आर्थिक सम्पन्न क्षेत्र क्याटलोनियामा गत वर्ष भएको विखण्डनवादी विवादास्पद जनमत संग्रहको वर्षगाँठको दुई दिनअघि शनिबार स्वतन्त्र क्याटलनको पक्ष र विपक्षमा प्रदर्शन भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। गत वर्ष अक्टोबर १ का दिन भएको विवादास्पद जनमत संग्रहलाई म्याड्रिडले गैरकानुनी घोषणा गरेको भए पनि विखण्डनवादी क्याटलनहरुले सो जनमत संग्रहलाई खुसीयालीका रूपमा मनाउन शनिबार बार्सिलोनका विभिन्न क्षेत्रमा भेला भएका थिए।

स्वतन्त्र क्याटलोनिया पक्षधरले शुक्रबार रातिदेखि नै शिविर बनाएर प्रदर्शन गर्न तयारी गरेका थिए । उनीहरुलाई गत वर्ष प्रहरीले प्रदर्शन गर्न रोक लगाएको थियो। क्याटन अधिकारीहरुका अनुसार गत वर्ष भएको विवादास्पद जनमत संग्रहको मतदान प्रक्रियालाई रोक्ने क्रममा करिब हजारजना घाइते भएका थिए। 

शनिबार स्वतन्त्र क्याटलन समर्थक र विरोधीबीच भएको घम्साघम्सीमा दुई जना पक्राउ परेको स्पेन प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले दंगा प्रहरीलाई रंग छ्यापेको बताइएको छ । आफ्नी पत्नीसहित स्वतन्त्र क्याटलोनियाको पक्षमा प्रदर्शनमा उत्रिएका ६८ वर्षीय इलेक्ट्रिसियन नाक्र्रिस टर्मेसले क्याटलोनियाले स्वतन्त्रता पाउने विषयमा आफू अब आशवादी नभएको बताए। ‘गत वर्ष हामीले हाम्रो जीवनको राम्रो क्षणमध्येको क्षण बितायौं । मैले मेरा अभिभावक स्वतन्त्रताको पक्षमा मतदान गर्न पाएकोमा खुसी भएको देखेको थिएँ तर अहिले हामी रोकियौं,’ उनले बताए। 

‘न बिर्सन सक्छौं, न त माफी नै दिन’ भन्दै शनिबार कैयौं घण्टा स्वतन्त्र क्याटलोनिया पक्षधरले बार्सिलोनमा प्रदर्शन गरे। त्यसैगरी अर्को साइडमा एकतावादीहरुले पनि प्रदर्शन गरिरहेका थिए । उनीहरुले स्पेन जिन्दावाद ! भन्दै नारा लगाइरहेका थिए । गत वर्ष भएको विवादास्पद मतदानको वार्षिकोत्सव मनाउनु भन्दा दुई दिनअघि भएको प्रदर्शनमा दुवै स्वतन्त्र क्याटलोनिया पक्षधर र विपक्षी आमनेसामने भएपछि प्रहरीलाई स्थिति नियन्त्रण लिनका लागि अत्यन्तै असहज भएको थियो।

प्रहरीको समर्थनमा रहेका एक ४२ वर्षीय मेकानिक जोन पुइगले भने दुवै पक्षका राजनीतिज्ञका कारण हिंसा सुरु भएको बताए । अवस्थामा झनै तनाबग्रस्त बन्दै गएको उनको जिकिर थियो। 

 

प्रकाशित: १४ आश्विन २०७५ ०३:०० आइतबार

स्वतन्त्र_क्याटलन स्पेन