अन्तर्राष्ट्रिय

नयाँलाई ठाउँ दिने भन्दै स्वीट्जरल्याण्डमा एक हप्तामै दुई मन्त्रीकाे राजीनामा

जेनेभा– स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजीनामाको घोषणा गरेकी छिन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको राजीनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने छ। उनीसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजीनामा दिएका छन्। 

लेउथर्ड विगत १२ बर्षदेखि सरकारमा रहेर सेवा गर्दै आएकी छिन् भने उनले दुई पटक अध्यक्ष मण्डलको नेतृत्व गरेका छिन्। स्वीट्जरल्याण्डमा अध्यक्ष मण्डलको नेतृत्व हरेक एक एक बर्षमा फेरिने व्यवस्था छ। 

‘नयाँ शक्तिहरुलाई ठाउँ बनाइदिने समय आएको छ’, ५५ बर्षिय क्रिश्चियन डेमोक्रयाट लेथार्डले संसदलाई पठाएको पत्रमा भनेकी छिन्। उनले हाल वातावरण, यातायात, उर्जा र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छिन्। 

उनी अहिले स्वीजरल्याण्डमा सबैभन्दा लामो समय सरकारमा रहने मन्त्री हुन। उनले सन् २०१९ मा हुने आम निर्वाचनसँग यो राजीनामाको कुनै सम्बन्ध नभएको यसअघि नै स्पष्ट पारिसकेका छिन्। 

स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजीनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजीनामा आएको हो। यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफूले सरकार छाड्ने योजना बनाएको जानकारी दिएका थिए। उनी सन् २०१० मा मन्त्री बनेका थिए।

लिवरल पार्टीका नेता ६६ बर्षिय अम्मानले पनि आफ्नो राजीनामासँग सन् २०१९ मा हुने आम निर्वाचनको कुनै सम्बन्ध नरहेको दावी गरेका छन्। 

प्रकाशित: १२ आश्विन २०७५ ०४:५४ शुक्रबार

मन्त्री राजीनामा स्वीट्जरल्याण्ड