अन्तर्राष्ट्रिय

दुर्इ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धि शुरु

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गरेकाे घोषणा सोमबारदेखि लागू भएको छ। यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ। 

योसँगै अमेरिका प्रवेश गर्ने कूल दुईसय ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करवृद्धि लागू भएको छ। चीनबाट अमेरिका निर्यात हुने करिब आधा सामानमा अब करको असर पर्नेछ। विभिन्न अध्ययनका अनुसार अमेरिकामा आम उपभोगका सामानको मूल्य बढ्नेछ। 

अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभावको प्रतिरक्षा गर्दै राष्ट्रपति ट्रम्पले चीनले स्वच्छ व्यापारलाई बढावा नदिए चीनबाट आपूर्ति हुने सबै सामानमा करवृद्धि गर्ने चेतावनी दिएका छन्। चीनले खासगरी बजारको लोभ देखाएर अमेरिकी उच्च प्रविधि, रोजगारी र ठूला उद्योग सुटुक्क चीन लगेको अमेरिकाले आरोप लगाउँदै आएको छ। 

बदलामा बेइजिङले पनि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने घोषणा गरिसकेको छ। चीनले ५ हजार २०० किसिमका अमेरिकी सामानमा ५ देखि १० प्रतिशत करवृद्धि गर्ने लक्ष्य राखेको छ। यो सहित अमेरिकाबाट आयात हुने करिब एकसय १० अर्ब डलर बराबरका सामानमा कर लाग्नेछ। अर्थात् अमेरिकाबाट आयात हुने सबै वस्तुमा अब कर लाग्नेछ। 

तर राष्ट्रपति ट्रम्पले “तेस्रो चरण”को करवृद्धि पनि हुने चेतावनी दिएका हुन्। उनले चीनबाट आयात हुने अरु दुईसय ६७ अर्ब डलर बराबरका सामानमा करवृद्धि गर्ने उल्लेख गरेका छन्। यो चेतावनी कार्यान्वयनमा आए चीनबाट आयात हुने सबै वस्तुमा करवृद्धि हुनेछ। 

विश्वका यी दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको संवाद पनि पछिल्ला समय पातलिएको छ। वाल स्ट्रिट जर्नलका अनुसार चीनले सेप्टेम्बरमा वासिङ्टन पठाउने भनिएको वार्ता टोलीको यात्रा कार्यक्रम रद्द गरेको छ। गत अगस्टको अन्त्यतिर भएको वार्तामा पनि खासै प्रगति भएको थिएन। 

अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्ला व्यापारिक तनावले आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ। कोषका प्रवक्ता गेरी राइसले करवृद्धिले दुवै मुलुकका साथै विश्वका अन्य राष्ट्रमा पनि प्रभाव पार्ने बताए। 

प्रकाशित: ८ आश्विन २०७५ १०:०७ सोमबार

व्यापार_युद्ध अमेरिका_चीन करवृद्धि