अन्तर्राष्ट्रिय

‘किम चाँडो निःशस्त्रीकरण चाहन्छन्’

लाखौं उत्तर कोरियाली नागरिकलाई ऐतिहासिक सम्बोधन गर्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन (दायाँ)। साथमा उत्तर कोरियाली नेता किम जोङ–उन (बायाँबाट दोस्रो)। तस्बिर : एजेन्सी

सोल (बिबिसी) – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन तत्काल पूर्ण निःशस्त्रीकरण गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न इच्छुक रहेको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले बताएका छन्।

किमले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया पुनः भ्रमणको पनि इच्छा देखाएको उत्तर कोरियाको ऐतिहासिक भ्रमण सकाएका दक्षिण कोरियाली राष्ट्रपति मुनले बताए।

जुन १२ मा सिंगापुरमा भएको ट्रम्प–किम बैठकले सुरु गरेको वार्ताको शृंखलालाई पुनः सुचारु गर्न आफू तयार रहेको अमेरिकी विदेशमन्त्री पोम्पेओले पनि बताइसकेका छन्। उनले उत्तर कोरियालाई सन् २०२१ सम्ममा पूर्ण रूपमा निःशस्त्रीकरण गर्ने उद्देश्य रहेको पनि बताएका छन्।

उत्तर कोरियाको राजधानीमा पुग्ने पहिलो राष्ट्रपति बनेका मुन तीन दिने उच्च तहको भ्रमण सकाएर बिहीबार सोल पुगेका छन्।

‘किमले तत्काल आणविक निःशस्त्रीकरण गर्ने इच्छा देखाएका छन् र आर्थिक विकासमा केन्द्रीत हुने बताएका छन्,’ राजधानी सोलमा दक्षिण कोरियाली राष्ट्रपति मुनले बताए।

‘उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चाँडै नै उत्तर कोरियाको भ्रमण गर्ने र निःशस्त्रीकरण प्रक्रियालाई चाँडो गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति ट्रम्पसँग निकट भविष्यमै दोस्रो शिखर बैठक हुने आशा पनि व्यक्त गरेका छन्,’ मुनले बताए।

कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे उत्तर कोरियाली नेता किमले मुन र ट्रम्प दुवैलाई प्रतिबद्धता व्यक्त गरे पनि त्यसअनुरुपको काम भने हुन सकेको छैन । त्यसैगरी अमेरिका–उत्तर कोरियाको वार्ता पनि प्रगतिउन्मुख छैन । यद्यपि किमले यसै साता देशको मुख्य क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रक्षेपणस्थल बन्द गर्नेबारे सहमति व्यक्त गरेका छन् । तोङचाङ–री आणविक परीक्षण तथा प्रक्षेपणस्थल बन्द गर्ने किमको सहमति कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने दिशातर्फको फड्को भएको र रोकिएको अमेरिका–उत्तर कोरिया वार्ता सुचारु गर्ने माध्यम भएको दक्षिण कोरियाली राष्ट्रपति मुनले बताएका छन् । किमको निर्णयका आधारमा रहेर अमेरिकाले तत्काल पुनः वार्ताको थालनी गर्ने अमेरिकी विदेशमन्त्री पोम्पेओले बताएका छन्।

किम र मुनबीचको भेटमा उत्तर कोरियाली नेता किमले सोलको भ्रमण गर्नेबारे पनि सहमति भएको छ । उनी दक्षिण कोरियाको राजधानी सोल भ्रमण गर्ने पहिला उत्तर कोरियाली सर्वोच्च नेता हुनेछन् । उत्तर कोरियामा रहँदा बुधबार साँझ दक्षिण कोरियाली राष्ट्रपति मुन उत्तर कोरियाली नेता किमसँगै त्यहाँको एरि¥याङ प्रोपोगान्डा पर्वको कार्यक्रममा सहभागी भएका थिए।

सो अवसरमा दक्षिण कोरियाली राष्ट्रपति मुनले दशौं हजार उत्तर कोरियाली नागरिकलाई सम्बोधन गरेका थिए । उनले सम्बोधनका दौरान दुई कोरियाबीच पुनः एकीकरण र कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरणको उद्देश्यबारे बोलेको बिबिसीले उल्लेख गरेको छ।

दक्षिण कोरिया र चीनको आग्रह
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले चाँडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गरेका हुन्। तीन दिने प्योङयाङ भ्रमणका दौरान मुनले किमलाई यस्तो आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । मुन र किमबीच यसैबर्ष मात्रै अहिलेसम्म तीन पटक बैठक भइसकेको छ । यसअघि गत अप्रिल २७ र मे २६ तारिखका दिन दुई कोरियाली नेताबीच शिखर वार्ता भएको थियो । त्यसैगरी किम र ट्रम्पबीच भने पहिलो पटक गत जुन १२ तारिखका दिन सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न चीनको विदेश मन्त्रालयले पनि बिहीबार किमलाई आग्रह गरेको छ । कोरियाली शिखर बैठकपछि जारी संयुक्त घोषणापत्रमा आणविक निःशस्त्रीकरणप्रति चरणबद्ध रूपले अगाडी बढ्ने प्रतिबद्धता पुनः जनाइएकोमा चीनले खुशी व्यक्त गरेको छ । सिंगापुरमा भएको यसअघिको सहमतिअनुसार नै अमेरिकाले पनि थप कदम चाल्ने चीनले अपेक्षा गरेको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले भने, ‘उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताले एक अर्कासँग छिट्टै वार्ता गर्ने विश्वास लिइएको छ।’

प्रकाशित: ५ आश्विन २०७५ ०४:४६ शुक्रबार

उत्तर_कोरिया किम_जोङ–उन