अन्तर्राष्ट्रिय

‘खराब अवस्था आउने चेतावनी’

उत्तरी क्यारोलिनाको लम्बर्टनमा फ्लोरेन्स आँधीका कारण आएका बाढीबाट एक वृद्ध मानिसलाई सुरक्षित स्थानतर्फ लगिँदै। तस्बिर : एजेन्सी

वासिङ्टन (बिबिसी) – अमेरिकामा कम्तीमा १२ जनाको ज्यान लिने गरी आएको फ्लोरेन्स नामक आँधीका कारण अझै भयावह स्थिति आउन बाँकी नै रहेको चेतावनी दिइएको छ।

हालसम्मकै सबैभन्दा ठूलो वर्षाको नाम दिइएको फ्लोरेन्स आँधीको गतिमा केही कमी आएको र अहिले उत्तर र दक्षिण क्यारोलिनातर्फ अघि बढिरहेको बताइएको छ।

वर्षाको मात्राले महामरीपूर्ण बाढी ल्याउने छ, अमेरिकी राष्ट्रिय आँधीबेहरी केन्द्रले जनाएको छ । सुस्त गतिको आँधी पश्चिमतर्फ अघि बढिरहेको भए पनि आइतबार सो आँधी उत्तरी क्षेत्र ओहियोतर्फ मोडिने चेतावनी दिइएको छ।

आँधीबेहरीका रूपमा सुरु भएको फ्लोरेन्स अहिले केही मत्थर भएको राष्ट्रिय आँधीबेहरी केन्द्र (एनएचसी)ले आइतबार जनाएको छ । फ्लोरेन्सको गतिमा कमी आएको भए पनि क्यारोलिनाका केही भागमा बाढी आउने चेतावनी सो केन्द्रले दिएको छ।

‘यो आँधीका कारण अहिलेसम्मकै ठूलो खालको पानी परिरहेको छ र केही क्षेत्रमा त वर्षालाई इन्चमा नभएर फिटमा मापन गर्नु परेको छ,’ उत्तरी क्यारोलिनाका गभर्नर रोय कोपरले आइतबार बताए।

हालसम्मकै सबैभन्दा ठूलो वर्षात् हुने अनुमान गर्दै उत्तरी क्यारोलिनास्थित फेतेभिल्ले सहरका अधिकारीहरुले नदी नजिकै बस्ने बासिन्दालाई सो क्षेत्र तत्काल छोड्न आदेश दिएको बिबिसीले जनाएको छ। ‘अनिवार्य रूपमा आफू बसिरहेको ठाउँ छोड्न गरिएको आग्रहलाई यदि तपाईं स्वीकार गर्नु हुन्न भने तपाईंको ज्यानपछिको हकदारबार कानुनी जानकारी गराउनसक्नु हुन्छ, किनभने ज्यान जाने सम्भावना धेरै छ,’ मेयर मिच कोल्भिनले सहरवासीलाई दिएको चेतावनी उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘खराब अवस्था आउन बाँकी नै छ,’ उनले बताए।

उत्तरी क्यारोलिनाका आठ जिल्लालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकोपग्रस्त क्षेत्र घोषणा गरेका छन् । राष्ट्रपतिको घोषणाले पुनः निर्माणलगायतको प्रयासमा संघीय सहायता प्रदान गर्न सजिलो हुने छ।

फ्लोरेन्स आँधीका कारण हालसम्म १२ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मृतकमध्ये अधिकांश उत्तरी क्यारोलिनाका भएको बताइएको छ । मारिनेमध्ये एक महिला र उनको सात महिनाको शिशु पनि रहेका छन् । आँधीका कारण उत्तरी क्यारोलिनाको विल्मिङटनमा शुक्रबार रूख ढलेर उनीहरुको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

आफ्नो कुकुरहरुबारे जानकारी लिँदै गर्दा एक ७१ वर्षीय वृद्ध मानिसको आँधीमा उडेर मृत्यु भएको छ । त्यसैगरी दक्षिण क्यारोलिनामा घरभित्र रहेको जेनेरेटरले उत्पादन गरेको कार्बन मोनोअक्साइडका कारण दुई जनाको मृत्यु भएको बताइएको छ।

क्याटेगोरी एक आँधीबेहरीका रूपमा पहिलो चोटी उत्तरी क्यारोलिनामा प्रवेश गरेको फ्लोरेन्सका कारण हजारौं शिविरमा बसिरहेका छन् । जमीनतर्फ अघि बढेपछि गति घटेको आँधीका कारण दुई क्यारोलिनामा रहेका करिब आठ लाख घर र व्यापारिक केन्द्र विद्युत् बिहीन भएका छन् । बढ्दो बाढीको पानीका कारण फसेका मानिसलाई तटीय सुरक्षाकर्मी र स्वंयसेवक डुंगाले सहयोग गरिरहेका छन् । बाढीका कारण उत्तरी क्यारोलिनाको न्यु बर्नबाट सयौं बासिन्दालाई आपतकालीनकर्मी र स्वयंसेवकले शनिबार उद्धार गरेका थिए।

‘लिभिङ रूमबाट बुलेट रेल आए जसरी आँधी आयो । मैले यस्तो त यसअघि कहिले पनि अनुभव गरेको थिइँन् । म अत्यन्तै डराएको थिएँ,’ चाल्र्स रुकर नामक एक स्थानीयले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग बताए । आँधीका कारण जोखिम कायम नै भए पनि केही स्थानीय भने बाढीग्रस्त सडकहरुबाट आफ्नो घरतर्फ अघि बढिरहेको समाचार बाहिरिएका छन् । ‘सुरक्षित रहनुहोस्,’ संघीय आपतकालीन व्यवस्थापन प्रशासनले अपिल जारी गरेको बिबिसीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७५ ०४:०० सोमबार

अमेरिका फ्लोरेन्स_आँधी