अन्तर्राष्ट्रिय

पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त

इस्लामावाद- भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ। शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो। 

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ। पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्किएका थिए। 

शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पु-याइएको छ। कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ। 

उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए। स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन्। 

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो। महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो। 

नवाज शरिफ विरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गरेका छन्। 

प्रकाशित: २७ भाद्र २०७५ ११:५२ बुधबार

नवाज_शरिफ जेलमुक्त पत्नी_वियोग