अन्तर्राष्ट्रिय

फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

बैङ्कक- सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। 

बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकिलले शुक्रबार जानकारी दिएका छन्। 

बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन्। उनलाई विदा मनाउन आएका बेला बलात्कार भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्। 

थाइल्याण्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको समाचारमा उल्लेख छ। 

अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो। 
“उनीहरुले गलत सूचनाहरु आदान प्रदान गरेका थिए, त्यसैले पक्राउ गरिएको हो,” एक प्रहरी अधिकारीले भने। 

उनीहरुलाई थाइल्याण्डको कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको ती प्रहरी अधिकारीको भनाई छ। 

उनीहरु सवैलाई बिहीबार राती प्रतिव्यक्ति ६० हजार भाट धरौटीमा छाडिएको समाचारमा जनाइएको छ। प्रहरीले लगाएको आरोप पुष्टि भएमा उनीहरू सवैले पाँच बर्ष जेल सजाय भोग्नु पर्नेछ। 

प्रकाशित: २२ भाद्र २०७५ १६:२४ शुक्रबार

फेसबुक दुरुपयोग पक्राउ