अन्तर्राष्ट्रिय

अब इयुको सुरक्षा अमेरिकामा आश्रित छैन : म्याक्रोन

पेरिस- युरोपेली संघ (इयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफूले इयुको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताएका छन्। 

फ्रान्सका राष्ट्रपतिले कुटनीतिक कार्यसूचीलाई पुनः प्रस्तुत गर्ने सन्दर्भमा दिएको वक्तव्यमा भने, “युरोपले अब सुरक्षाको बिषयमा अमेरिकामाथि विश्वास गर्नु सक्दैन। यूरोपको सुरक्षाको प्रत्याभुत गराउने कुरा हामीमा निहित कुरा हो।” 

गृष्मकालीन विदापछि काममा फर्कने सन्दर्भमा आगामी दिनका कार्ययोजनालाई छलफल गर्न बसेको करिब २५० कुटनीतिज्ञ, सांसद तथा अन्तराष्ट्रिय विषयका जानकारहरू श्रोता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “प्रस्ताव ‘आगामी केही महिना’मा सार्वजनिक गरिने छ।” 

मैले रुससहित इयू सदस्य राष्ट्रसँग हाम्रो सुरक्षाको सविस्तार समीक्षा गर्न जरुरी ठानेको छु, म्याक्रोनले भने। 

फ्रान्सका राष्ट्रपतिको प्रतिक्रिया परम्परागत उत्तर अटलान्टिक सन्धि सङ्गठन (नेटो) सहयोगी मुलुकसँग अमेरिकालाई टाढा राख्ने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको श्रृङ्खलावद्ध सङ्केतहरूपछि आएको हो। 

म्याक्राेनले इयुको वर्तमान् अवस्थालाई व्यापक सुधार ल्याउने प्रतिवद्धताका साथ गत बर्ष फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको इयु क्षेत्रको सुरक्षाका लागि छुट्टै बजेटसहित व्यापक राजनीतिक सुधारको नारालाई लिएर अहिलेसम्म विमति व्यक्त भएका छैनन्। 

मङ्गलबार डेनमार्क तथा फिनल्याण्डको तीन दिन लामो भ्रमणमा निस्कन लागेका उनी आफ्नो पछिल्लो योजनामा समर्थन जम्मा गर्ने पहल गर्ने अनुमानहरू गरिएको छ। “हामीले नयाँ पहल लिनु र नयाँ गठबन्धन बनाउनु जरुरी छ,” उनले थपे। 

फ्रान्सले राष्ट्रियताबारे जागृत भएको र अतिवादले कडा स्वरुप लिइरहेका समय यसबाट बच्न नयाँ सोचका साथ अघि बढ्नुपर्ने उनले बताए। 

प्रकाशित: ११ भाद्र २०७५ १२:४८ सोमबार

इयु अमेरिका सुरक्षा इमानुएल_म्याक्रोँ