अन्तर्राष्ट्रिय

‘रोहिन्जा म्यान्मार फर्कने विषय बंगलादेशको हातमा’

सिंगापुरमा मंगलबार आयोजित म्यान्मारको लोकतान्त्रिक रुपान्तरण विषयक कार्यक्रममा प्रश्नको जबाफ दिँदै म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी (दायाँ) र साथमा सिंगापुरका उपप्रधानमन्त्री तेओ ची–हियन ।   तस्बिर : एजेन्सी

सिंगापुर – म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले बंगलादेशमा आश्रय लिइरहेका रोहिन्जा शरणार्थीलाई म्यान्मार फर्काउन बंगलादेशको तत्परतामा निर्भर रहने बताएकी छन्। 

एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सैनिकको चरम दमनपछि म्यान्मारबाट सात लाख भन्दाबढी रोहिन्जा मुसलमान भागेर बंगलादेश प्रवेश गरेका थिए । गत नोभेम्बरमा दुवै मुलुकले उनीहरुलाई स्वदेश फर्काउने सम्झौतामा सहमति जनाए पनि सो सहमति कार्यान्वयनमा अवरुद्ध भएको छ । गाउँका घर जलाइएको, सैनिकबाट यातना दिइएको, हत्या गरिएको र बलात्कृत भएको तिनै स्थानमा फर्कन रोहिन्जाहरु डराइरहेका छन् र म्यान्मारका सैनिकको त्रास पनि उत्तिकै छ। 

बंगलादेशले रोहिन्जा समुदायको बसाई अस्थायी रहेको बताउँदै आएको छ तर जबर्जस्ती फर्काउन पनि चाहेको छैन । ‘सम्झौतामा उल्लेख भएबमोजिम स्वदेश फर्किने रोहिन्जा समुदायलाई स्वागत गर्न म्यान्मार तयार छ,’ रोहिन्जा संकटबारे सार्वजनिक टिप्पणी नगरेकी नेत्री सुकीले सिंगापुरमा बताइन् । ‘हामी आफैंले एकतर्फी रूपमा समयसीमा तोक्न सकेका छैनौं किनभने हामीले बंगलादेशसँग पनि काम गर्नुपर्नेछ,’ म्यान्मारको लोकतान्त्रिक रुपान्तरणका विषयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सुकीले बताइन् । बंगलादेशले पनि यो प्रक्रिया छिटो पूरा गर्न निर्णय गर्नुपर्ने उनको जिकिर उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। 

बंगलादेशको सीमावर्ती सहर कोक्स बजार आसपास आश्रय लिइरहेका रोहिन्जाले म्यान्मारको रखाइन राज्यमा फर्कनुअघि सुरक्षाको प्रत्याभूति हुनुपर्ने र नागरिकताको अधिकार प्राप्त हुनुपर्ने माग गरिरहेका छन् । संयुक्तराष्ट्र संघले उनीहरुको फिर्तीका लागि परिस्थिति अनुकूल भइनसकेको बताउँदै आएको छ । अमेरिका र राष्ट्रसंघले म्यान्मारको सैनिक गतिविधि जातीय सफायमै केन्द्रित भएको आरोप लगाउँदै आएका छन् । म्यान्मारले ठूलो संख्यामा रोहिन्जा समुदायलाई स्वीकार्ने सम्भावना पनि न्यून रहेको बताइन्छ। 

रोहिन्जा विद्रोहीले गत वर्षको अगस्ट २५ का दिन रोहिन्जा राज्यमा रहेको प्रहरी पोष्टमा आक्रमण गरेपछि सरकारी सेनाले उनीहरुविरुद्धको कारबाही सुरु गरेको थियो । रोहिन्जाविरुद्धको सैनिक कारबाहीलाई नियन्त्रणमा राख्न चौतर्फी आग्रह गरिएपनि हजारौं रोहिन्जा मारिएको आशंका गरिएको छ। 

प्रकाशित: ६ भाद्र २०७५ ०३:०९ बुधबार

म्यानमार आङ_साङ_सुकी रोहिन्जा_शरणार्थी