अन्तर्राष्ट्रिय

ड्रोन हमलापछि भेनेजुएलाको राजनीतिमा तरंग

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरो । तस्बिर : एजेन्सी

कराकस– राष्ट्रपति निकोलस माडुरोले शनिबार एउटा सैनिक कार्यक्रममा सम्बोधन गरिरहेका बेला गराइएको ड्रोन आक्रमणपछि भेनेजुएलाको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।

आफ्नो हत्या गर्ने उदेश्यसहित गराइएको ड्रोन हमलामा विपक्षी सांसद जुवान रेकेस्नेसको संलग्नता रहेको राष्ट्रपति माडुरोले आरोप लगाएसँगै उनलाई पक्राउ गरिएको छ । भेनेजुएलाको शक्तिशाली सरकारले दुई जना सांसदले पाउँदै आएको सुविधा खारेज गर्ने योजना बनाएसँगै विपक्षी सांसद जुवानलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ ।
राष्ट्रपतिको हत्या गर्ने उद्देश्यसहित शनिबार गराइएको ड्रोन आक्रमणमा विपक्षी राजनीतिज्ञहरुको प्रमुख भूमिका रहेको भेनेजुएली सरकारले आरोप लगाएपछि देशको राजनीतिले नयाँ मोड लिएको बिबिसीले उल्लेख गरेको छ । कतिपय आलोचककहरुले भने शनिबार राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला गराइएको ड्रोन आक्रमण केबल नाटक भएको कतिपय आलोचकहरुले बताउने गरेका छन्।

जुवान रेकेस्नेस को हुन् ?
विपक्षी नियन्त्रणमा रहेको राष्ट्रिय सभाका सदस्य रहेका जुवान रेकेस्नेस विपक्षी दल ‘प्रिमेरो जस्टिसिया’ अर्थात ‘न्याय पहिला’ का सांसद हुन् । बृहत् ताचिरा राज्यका २९ वर्षीय जुवान भेनेजुएली राष्ट्रपतिको सार्वजनिक रूपमा आलोचना गर्ने मध्येका एक हुन् ।

उनी कैयौं सरकार विरोधी प्रदर्शनमा सहभागीसमेत भएका छन् । सोमबार जुवानले राष्ट्रिय सभामा सरकार विरोधी कडा भाषण गरेका थिए । सो भाषणका क्रममा उनले सरकार विरोधी आलोचनाको कार्य नरोकिनेसमेत बताएका थिए । ‘सबै भेनेजुएलाले चाहेको चिज नपाएसम्म हामी प्रदर्शन रोक्ने वा सरकार विरोधी आलोचना रोक्ने पक्षमा छैनौं । हाम्रो माग नै माडुरोको सत्ताच्युत हो,’ उनले बताएका थिए ।सरकारले विपक्षीलाई चुप बनाउन खोजेको आरोप पनि उनले सोमबारको सम्बोधनका क्रममा लगाएका थिए । ‘तानाशाहको एउटा मात्रै रणनीति जसरी भए पनि विपक्षीलाई चुप लगाउनु हुन्छ,’ उनले बताएका थिए।

रेकेस्नेसलाई के भयो ?
राष्ट्रपति माडुरोले आफ्नो हत्या प्रयासमा विपक्षी सांसद रेकेस्नेसको हात रहेको बताएसँगै उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई र विद्यार्थी अभियन्तासमेत रहेकी उनकी बहिनी राफेलालाई राजधानी करासकस्थित उनीहरुकै अपार्टमेन्टबाट प्रहरीले पक्राउ गरेको रेकस्नेसको दलले बताएको छ।

प्रहरीले दुई दाजुबहिनीलाई अपार्टमेन्टबाट लाँदै गरेको सिसिटिभी भिडियो प्रिमेरो जस्टिसियाले ट्विटरमार्फत् सार्वजनिक गरेको छ । मुखमा मास्क लगाएका सशस्त्र व्यक्तिले उनीहरुलाई धकेल्दै लगेको दृश्य पनि सिसिटिभी फुटेजमा देखिएको छ । राफेला रेकेस्नेसलाई पछि रिहा गरिए पनि जुवानलाई अझै रिहा नगरिएको बिबिसीले उल्लेख गरेको छ । आफ्ना छोराछोरीलाई प्रहरीले अपहरण गरेको उनीहरुका पिता जुवान गुइल्लेर्मोले बताएका छन् । कुनै पनि वारेन्ट बिना आफ्ना छोराछोरीलाई लगिएको उनले आरोप लगाएका छन्।

उनीमाथि के आरोप लगाइएको छ ?
रेकेस्नेस र उनकै दलका अर्का सांसद जुलियो बर्गेसमाथि शनिबार राष्ट्रपति माडुरोमाथि भएको ड्रोन हमलाको योजना बनाएको आरोप लगाइएको छ । राष्ट्रपतिको ज्यान लिने उद्देश्यसहित गरिएको आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुले दुई जना सांसदको नाम बकेको राष्ट्रपति माडुरोले बताएका छन् ।कोलम्बियाको राजधानीमा बसिरहेका सांसद जुलियोले भने ट्विट गर्दै आफू र रेकेस्नेसमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्।

 

प्रकाशित: २४ श्रावण २०७५ ०३:३० बिहीबार

# ड्रोन हमला # भेनेजुएला राजनीति #