अन्तर्राष्ट्रिय

डढेलो फैलिनुमा वातावरणीय कानुन दोषी : ट्रम्प

फाइल फाेटाे

वासिङ्टन– वातावरणीय कानुनमा रहेको कमजोरीका कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।  कानुनले उपलब्ध पानीलाई उचित ढंगले उपयोग गर्न अनुमति नदिएपछि राज्य नै डढेलोका कारण आक्रान्त बनेको अमेरिकी राष्ट्रपतिले दाबी गरेका छन्।

‘क्यालिफोर्नियाको डढेलो दिनप्रतिदिन फैलिँदै छ र यसले राज्यका जनतामा नराम्रो प्रभाव परेको छ तर यस अवस्थामा पनि उपलब्ध पानीलाई यथोचित रूपमा उपयोग गर्न वातावरण कानुन समस्या भएको छ,’ राष्ट्रपति ट्रम्पले बताए । ‘क्यालिफोर्नियाको पानी प्रशान्त महासागरतर्फ लगिएकाले आगो निभाउन पानीको अभाव भएको उनको दाबी थियो । ‘आगो नियन्त्रणका लागि रूखहरु फाँड्न जरूरी छ तर वातावरण कानुनले यसलाई रोक्छ,’ राष्ट्रपति ट्रम्पले ट्विट गरेका छन् । ‘क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पानीको वहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगेका छन् । प्रशस्त पानीसहितको क्यालिफोर्नियाको कल्पना गरौं त यो पक्कै पनि राम्रो हुनेछ । संघीय सरकारले छिट्टै स्वीकृति दिनु पर्छ,’ ट्विटमा उल्लेख गरिएको छ।

क्यालिफोर्नियामा विनासकारी डढेलोले राज्यमा वितण्डा मच्चाएको छ । यसका कारण राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पुर्याएको बताइएको छ । विभिन्न १७ स्थानमा फैलिएको डढेलोे नियन्त्रणका लागि हजारौं अग्नी नियन्त्रकले अनवरत खटिरहेको भएपनि एक साता पहिले सुरु भएको आगो अझै तातो, सुख्खा तथा तुफानी रूपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित: २३ श्रावण २०७५ ०५:१८ बुधबार