अन्तर्राष्ट्रिय

क्यानडाका सबै उडान रद्द

रियाद– साउदी अरबको राष्ट्रिय ध्वजावाहक विमान सेवाले क्यानडाको टोरन्टोमा गर्दै आएको सबै उडान रद्द गर्ने भएको छ।

अर्काे सोमबारदेखि सबै उडान रद्द गरिएको र त्यसपछिका लागि टिकट बिक्री नगर्न आदेश दिइएको उक्त एयरलाइन्सले सोमबार जानकारी दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
क्यानेडियन विदेशमन्त्री र रियादमा रहेको दूतावासको विरोधस्वरुप साउदी अरबले यस्तो निर्णय गरेको बताइएको छ । क्यानेडियन विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले साउदी अरबको जेलमा रहेका क्यानेडियन नागरिक समाजका एकजना अभियन्तालाई तुरुन्त रिहा गर्न दबाव दिँदै आएकी छन् ।  

 रियादमा रहेको क्यानाडेली दूतावास र विदेशमन्त्री फ्रिल्याण्डले ती क्यानेडियन नागरिकलाई तुरुन्त रिहा गर्न दबाव दिएपछि त्यसको विरोधस्वरुप साउदी अरबले पछिल्लो निर्णयका रूपमा रियादबाट टोरन्टोमा भइरहेका उडानहरु रद्द गर्ने निर्णय गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यसै विरोधस्वरुप साउदी अरबले रियादमा रहेका क्यानेडियन राजदूतलाई पनि २४ घन्टाभित्र देश छोड्न सोमबारै आदेश दिएको छ ।

त्यसैगरी क्यानडामा रहेका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ । यसका साथै साउदी अरब र क्यानडाबीचको व्यापार व्यवसाय र नयाँ लगानीका सबै कार्यक्रम पनि स्थगित गर्न आदेश दिइएको साउदी अरबले जानकारी गराएको साउदी प्रेस एजेन्सीले जनाएको छ । उक्त एयरलाइन्सले अर्काे सोमबार पछिका लागि बुकिङ गरिएका टिकटहरु रद्द गर्न यसका यात्रुहरुलाई भनेको छ । यसरी टिकट रद्द गर्दा कुनै पनि दस्तुर नलाग्ने गरी व्यवस्था मिलाइएको जानकारी पनि उक्त एयरलाइन्सले गराएको छ ।

 

प्रकाशित: २३ श्रावण २०७५ ०२:५६ बुधबार

# क्यानडा उडान #